काठमाडौँ - साउन १५ गते वर्षासँगै परेको चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अवरुद्ध बनेको विद्युत् चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेपछि सञ्चालनमा ल्याइएको छ ।
उक्त स्थानमा नयाँ ट्रान्सफरमर जडान गरेपछि गए रातिदेखि विद्युत् सञ्चालनमा आएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । खार्मीस्थित सोतीमा रहेको ट्रान्सफरमर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० घरमा विद्युत् आपूर्ति बन्द भएको केन्द्रका प्रमुख सोवितबहादुर क्षत्रीले जानकारी दिए ।
अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ताले प्रतिघर रु एक सय २५ का दरले रकम सङ्कलन गरेर रु १० हजारमा ट्रान्सफरमर ढुवानी गरिएको स्थानीय हर्कराज राईले बताए । “उपभोक्ताले महसुल तिरेपछि बिग्रिएको ठाउँमा प्राधिकरणले निःशुल्क मर्मत गर्नुपर्छ । अहिले उपभोक्ताले रकम सङ्कलन गरी ट्रान्सफरमर ढुवानी गर्न प्राधिकरणलाई सहयोग गरेका छौँ”, राईले भने, “दिक्तेलस्थित प्राधिकरणको कार्यालयबाट ढुवानी गरिएको ट्रान्सफरमर प्राधिकरणका प्राविधिक आएर जडान गरेका हुन् ।”
ट्रान्सफरमर जलेर विद्युत् सेवाबाट वञ्चित यहाँका उपभोक्ताले मर्मत गर्न खर्च आफैँले व्यवस्थापन गर्नुपरेपछि आगामी दिनमा यस्ता समस्या आएमा प्राधिकरणसँग समन्वय गर्न विद्युत् मर्मत तथा व्यवस्थापन समिति निर्माण गरेका छन् । अवरुद्ध भएको समयमा प्राधिकरणलाई खबर गर्न तथा भैपरी आउने सामान्य खर्च सामूहिक रुपमा उपलब्ध गराउने गरी स्थानीय वीर्खबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।
प्रतिक्रिया