पाँच सयभन्दा बढी बालबालिकालाई खाद्यान्न सहयोग

शनिबार, १९ साउन २०८१, १५ : ०७

काठमाडौँ - जुम्लाको तातोपानी गाउँपालिका र कालिकोटको शुभकालिका गाउँपालिकामा जोखिममा रहेका पाँच सयभन्दा बढी बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । 

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ४८ ले निर्धारण गरेको जोखिमका प्रकारका आधारमा अति जोखिममा रहेका बालबालिकाहरूका परिवारलाई खाद्यान्न सहयोग गरिएको सहयोगी संस्थाले जनाएका छन् । सेभःद चिल्डेन सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालद्वारा सञ्चालित सहयात्रा परियोजनाले जुम्ला तातोपानी गाउँपालिका भित्रका दुई सय ५० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको हो ।

कालिकोटको शुभकालिका गाउँपालिकामा साझेदार संस्था भिडिसेभ नेपालले १८० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । सहयात्रा तेस्रो परियोजनाका बाल अधिकार तथा बाल संरक्षण संयोजक प्रकाशबहादुर शाहीले आर्थिक रूपमा कमजोर घर परिवार भएकै कारणले बालबालिका हरेक जोखिममा पर्ने हुँदा उनीहरूको पोषणका लागि पनि परियोजनाले गाउँपालिकासँग समन्वय गरेर सहयोग गरेको बताए ।

तातोपानी गाउँपालिका भित्रका ८ वडामा छ सय ३ जना जोखिम बालबालिका पहिचान भएको र केही बालबालिका पहिचान हुने क्रम जारी रहेकाले खाद्य अवस्था सारै कमजोर भएका जोखिम बालबालिकाको परिवारलाई खाद्यान्न सहयोग गरेको बताए । प्रति परिवारले तीन हजार चार सय ९० रुपियाँ बराबरको सहयोग पाएका हुन् ।

शनिबार, १९ साउन २०८१, १५ : ०७

प्रतिक्रिया