काठमाडौँ - नेपाल जन-प्रशासन सङ्घले वि. स. २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा। भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ ।
सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका प्रेसिडेन्ट एव कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन-प्रशासन सङ्घले वि सं २०७९ मा 'हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो । सम्मान पत्रसहित नगद राशि रु २,००,००० (रू दुई लाख) को यो सम्मान वर्षेनी प्रदान गरिन्छ। पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्याउनु भएको बहुमूल्य योगदानको कदर स्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा. भेषबहादुर थापालाई प्रदान गरिने भएको हो।
यो सम्मान विशेष समारोह बिच आगामी २०८१ श्रावण २३ उनलाई अर्पण गरिनेछ। यस सम्मान छनौटका लागि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा एक सम्मान छनौट समिति गठन गरिएको थियो। सो समितिमा नेपाल जनप्रशासन सङ्घका तत्कालीन अध्यक्ष कृष्णहरि वास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्व सचिव शिशिर कुमार ढुंगाना सदस्य रहेका थिए ।
अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भई सकेका छन् डा. भेषबहादर थापा यो सम्मानबाट सम्मानित हुने २०औ व्यक्ति हुन् । स्वर्गीय हेमबहादुर मल्ललले साल्ट ट्रेडिग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरे ।
उनी नेसनल फाइनान्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सुवर्ण फर्मास्युटिकल्स लिमिटेडको पनि अध्यक्ष थिए। प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक बिचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकार सँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले वि.सं. २०४७ सालमा नेपाल जन-प्रशासन सङ्घको स्थापना भएको हो। गैरनाफामुखी पेसागत सङ्घको रूपमा स्थापित यस सङ्घले विगतमा जनप्रशासनका विभिन्न विधाहरूमा छलफल, प्रशिक्षण, अनुसन्धान, प्रकाशन र सम्मान तथा पुरस्कार सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया