कर्णालीका मुख्यमन्त्री कँडेलले  पाए विश्वासको मत

सोमबार, २१ साउन २०८१, १७ : ५५

काठमाडौँ - कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । 

सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली काँग्रेस र एमालेका सांसदहरूले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरू सहभागी थिए । 

काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए । 

सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्‍यो ।  एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, काँग्रेसका १४ जना सांसदले मत दिएका थिए । मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।

मुख्यमन्त्री कँडेलले आफू कर्णालीको विकास र समृद्धिका लगातार अग्रसर भइरहने बताए । कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले वैशाख १३ गते पहिलो पटक सांसदबाट विश्वासको मत पाएका थिए ।

 

सोमबार, २१ साउन २०८१, १७ : ५५

प्रतिक्रिया