चिलिमे जलविद्युत खुद नाफामा ६५ करोड

मंगलबार, २२ साउन २०८१, १२ : ०६

काठमाडौँ - गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी ६५ करोड २९ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिसम्म ६४ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेका थियो  । यस कम्पनी अन्तर्गत प्रवर्द्धित कुल २७० मेगावाट क्षमताका चार ओटा जलविद्युत आयोजनहरूमध्ये रसुवागढी हाइड्रोपावर अन्तर्गतको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनको निर्माण कार्य सम्पन्न भैसकेको  छ । 

त्यस्तै, साञ्जेन जलविद्युत कम्पनी अन्तर्गत निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाबाट गएको आश्विन २१ गतेदेखि आंशिक रूपमा विद्युत् उत्पादन भइरहेको छ । त्यस्तै मध्य भोटेकोसी जलविद्युत कम्पनी अन्तर्गत निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत आयोजना पनि करिब सम्पन्न भैसकेको जानकारी कम्पनीले दिएको छ । 

गत चौथो त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट १ अब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । सञ्चालन नाफा अघिल्लो वर्ष ६७ करोड ८१ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको गत वर्ष ७० करोड ८१ लाख रुपैयाँभन्दा बढी भएको हो । हाल यस कम्पनीको चुक्तापूँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको छ । रिटर्न अर्निगमा २ अर्ब ८० करोड रुपैयाँ कायम छ । 

अघिल्लो वर्ष ८ रुपैयाँ ८६ पैसा रहेको प्रतिशेयर आम्दानी गत वर्ष ८ रुपैयाँ १० पैसा कायम भएको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ भने अघिल्लो वर्ष १४४ रुपैयाँ ८० पैसा रहेकोमा गत वर्ष १३५ रुपैयाँ १९ पैसा रहेको हो ।

 

 

मंगलबार, २२ साउन २०८१, १२ : ०६

प्रतिक्रिया