काठमाडौँ- गए रातिदेखि परेको अविरल वर्षाका कारण खोकना आसपासको बागमती नदीले खतराको तह पारेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ललितपुरस्थित खोकना हुँदै बग्ने बागमती नदीले खतराको तह पार गरेको हो। महाशाखाले बागमती नदीमा खतराको तह नाघेकाले आवश्यक सावधानी अपनाउन आसपासका बस्तीलाई आग्रह गरेको छ।
हाल काठमाडौँ उपत्यकामा पानी पर्ने क्रम रोकिए पनि छिटफुट वर्षा भइरहेको तथा आज दिनभर जसो नै पानी परिरहने भएकाले महाशाखाले सबैलाई सतर्क रहन पनि आग्रह गरेको छ ।
उपत्यकाका अधिकांश नदी किनार क्षेत्र जलमग्न
काठमाडौं उपत्यकाका अधिकांश नदी किनार क्षेत्र जलमग्न बनेका छन्। काठमाडौंको बागमती, विष्णुमती, रुद्रमती मनोहरा, ललितपुरको कोड्कु, भक्तपुरको हनुमन्ते लगायतका खोलामा जलसतह बढेपछि किनारमा रहेका बस्ती डुबानमा परेका छन्। बागमती, विष्णुमती, कोड्कुलगायत खोलाले जल सतह पार पर्दा किनारका बस्ती डुबानमा परेका छन्।
जल तथा मौसम विज्ञान विभागकाअनुसार काठमाडौंको धाप क्षेत्रमा पछिल्लो १२ घन्टामा ५९.४ मिलिमिटर पानी परेको छ। कपनमा ८४.६, थलीप्मा ६७.६ मिलिमिटर पानी परेको छ। ललितपुरको गोदावरीमा १०१.६, काठमाडौंको नैकापमा ५६.४ मिलिमिटर पानी परेको छ।
वर्षाले सिंहदरबारसमेत प्रभावित
लगातारको वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ। निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन्। वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ। सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ।
रामशाहपथस्थित राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्नेगरी पानी जमेको छ। पानी जमेपछि कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी धमाधम निकास सहज बनाइरहेको छ। अविरल वर्षाले कामकाजी कर्मचारी र सर्वसाधारण बढी मर्कामा परेका हुन्।
उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त
वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेको छ। कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका छन्। लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । करिडोरका सडकमा पानी जमेको, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ।
लगातारको झरीले काठमाडौँका विभिन्न स्थानका सडक जलमग्न भए पनि सर्वसाधारण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो। काठमाडौँका कलंकी, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल, थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँबानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रतिक्रिया