काठमाडौँ - गत आर्थिक वर्ष २०८०\८१ मा कुल विद्युतको ९.५९ प्रतिशत चुहावट भएको छ । ९.५९ प्रतिशत अर्थात् १ अर्ब ८ करोड युनिट विद्युत् गत वर्ष चुहावट भएको प्राधिकरणको भनाइ छ ।
यसको हालको बजार मूल्य १० अर्ब २६ करोड हुन आउने प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएको वर्ष २०७२ सालमा २५.७ प्रतिशत विद्युत् चुहावट थियो । त्यसपछि क्रमशः घटेको चुहावट अहिले ९.५९ प्रतिशतमा सीमित भएको छ । विद्युतीकरण, उपकरण, प्रसारण लाइनलगायत कारण वार्षिक ५–७ प्रतिशत चुहावटलाई सामान्य मानिने प्राधिकरणले जनाएको छ ।
प्रदेशगत तथा डिभिजनका रूपमा गत आवमा सबैभन्दा धेरै विद्युत् चुहावट मधेस प्रदेशमा भएको छ । मधेसमा १४.२९ प्रतिशत विद्युत् चुहावट भएको छ । यसको हालको बजार मूल्य ३ अर्ब ६७ करोड पर्ने प्राधिकरणले जनाएको छ । सबभन्दा कम चुहावट चाहिँ बागमती प्रदेश र बागमती डिभिजनमा छ । बागमती प्रदेश कार्यालय मातहत गत आवमा ५.६० प्रतिशत विद्युत् चुहावट भएको छ । बागमती डिभिजन अन्तर्गत ७.१९ प्रतिशत चुहावट छ ।
प्रतिक्रिया