एकाएक चिनियाँ पुगेपछि खैलाबैला

६ बर्ष अगाडि

काठमाडौं-  बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको भौतिक र प्राविधिक तयारी धमाधम भइरहेका बेला उक्त केन्द्र मर्मत गर्नुपर्ने समय आएको भन्दै छिमेकी चीनबाट प्राविधिक टोली आएका छन्। चिनियाँ प्राविधिक टोली नेपाल आएपछि संसद् सचिवालय र सहरी विकास मन्त्रालय अलमलमा परेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

तत्कालीन राजा वीरेन्द्र शाहको आग्रहमा चीन सरकारले ०४८ सालमा निर्माण गरेको उक्त केन्द्रमा ०६४ देखि संविधानसभाको बैठक बस्दै आएको छ। भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत चीन सरकारले सम्मेलन केन्द्रलगायत आफूले निर्माण गरेका संरचनाको पुनर्निर्माण र मर्मतका लागि प्राविधिक र कामदारसहितको टोली खटाएको छ।

टोलीले सम्मेलन केन्द्र मर्मतका लागि दुई वर्ष समय मागेको छ। चीन सरकारले आफूले निर्माण गरेका संरचनाको निर्माणका लागि बजेट र योजना रहेको भन्दै अहिले मर्मत गर्न नपाए ‘पछि सम्भव’ नहुने जवाफ संसद् सचिवालय र सहरी विकासलाई दिएको छ।

संसद् सचिवालयले पहिलो संविधानसभादेखि सहरी विकास मन्त्रालयसँग उक्त भवन भाडामा लिई बैठक सञ्चालन गर्दै आएको छ। चीनले भवन मर्मत नगरे प्राविधिक र आर्र्थिक रूपमा आफंै मर्मत गर्ने सकिने अवस्था नरहेको सचिवालय कर्मचारी बताउँछन्।

‘मर्मतका लागि दुई वर्ष समय मागेपछि हामी अप्ठ्यारोमा छौं’, संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले  भने, ‘एकातिर संसद् सञ्चालन गर्नुपर्ने बेला आउँदै छ भने अर्कोतिर मर्मतको कुरा पनि उत्तिकै महत्वपूर्ण छ। के गर्ने, के नगर्ने हामी अन्योलमा छौं ।’

चीन सरकारले सम्मेलन केन्द्र निर्माण भएको २५ वर्ष पुगेको भन्दै भूकम्पपछि सम्मेलन केन्द्रका संरचना खुकुलो र बिग्रेको भन्दै मर्मतमा जोड दिएको छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया