हेर्ने कथाबाट चर्चामा आएका प्रकाश तामाङका बारेमा सामाजिक सञ्जालमा व्यक्त विचारहरुले नेपाली समाजको मनोदशालाई राम्ररी चिरफार गरेको पाइन्छ। पत्रकार विद्या चापागाईको टिमले उनको अवस्था सार्वजनिक मात्र गरेन उनलाई परिवारको जिम्मा पनि लगायो । यो आफैमा तारीफयोग्य काम हो । साढे दुई दशकदेखि परिवारसँग सम्पर्क विच्छेद भएका प्रकाशले परिवार भेटाए । परिवारले आफ्नो हराएको सदस्य भेटायो ।
तर परिस्थिति यतिमै सिमित भएन । प्रकाशलाई सहयोग गर्ने सहयोगी हातहरु एक से एक मिडियामा देखा परे । सहयोगको घोषणा गर्नेहरुको प्रतिष्प्रधा नै चलिरहेको छ । यसमा प्रधानमन्त्री केपी ओली समेत सहभागि छन् । एउटा गुमनाम व्यक्तिलाई समाजमा पुर्नस्थापित गर्नु स्वागतयोग्य कुरा नै हो । तर मिडियामा आउनको लागि गरिने देखावटी हर्कतहरुलाई असल मान्न चाहिं सकिदैन ।
एकथरी मानिसहरु प्रकाशलाई ३५ वर्षसम्म आश्रय र स्नेह दिने परिवारलाई सामन्ती र शोषक भनेर परिभाषित गरिरहेका छन् । यथार्थभन्दा धेरै पर गएर गरिएका टिप्पणीहरुले त्यो परिवार र त्यहाँको वास्तविक अवस्थाको सही विश्लेषण गर्न सकेका छैनन् । मानिसहरुको हतारमा प्रतिक्रिया जनाइहाल्ने प्रवृत्तिले सम्बन्धित व्यक्तिलाई कस्तो असर पर्छ भनेर विचार गरिएको पाईदैन । प्रकाश ६/७ वर्षकै उमेरमा भड्केर चुम भ्यालीको उक्त परिवारमा पुग्नुमा कसैको पनि दोष छैन । त्यसपछि उनी उक्त परिवारमा यति घुलमिल भए कि उनलाई छिमेकीहरुले फरक परिवारको हो अर्थात् काम गर्ने मान्छे हो भन्ने समेत ठानेनन् । त्यो परिवारसँग बढेको सामिप्यताले प्रकाशले आफ्नो घर परिवार र आफन्त समेत बिर्सिए । तर मानिसहरुले एकतफीै रुपमा आफ्ना विचारहरु मिडियामा राख्न छा्डेनन् ।
प्रकाश चुममा कसरी बसेका थिए भन्ने वास्तविक अवस्था त्यही परिवारका छोरा २३ वर्षीय छेतेनको सामाजिक सञ्जालमा आएको कुराबाट जानकारी भएको छ । उनले व्यक्त गरेको विचारमा सत्यता र सरलता प्रष्टै अनुभव गर्न सकिन्छ । त्यसैले पत्रकार वा जो कोही पनि आफै न्यायधिश बन्ने धृष्टता नगरेकै राम्रो । मिडियामा आएको एकतर्फी समाचारले त्यो परिवार जहाँ प्रकाशले ३५ वर्ष बिताए, लाई कस्तो असर परेको होला भन्ने पनि विचारणीय कुरा हो । आखिर हेर्ने कथाको टिमले भने जस्तो साहु पनि त रहेनछन् प्रकाशलाई अभिभावकत्व दिने परिवारका घरमुली ।
यो घटना हाम्रो समाजको एकदमै नयाँ र दुर्लभ घटना भने होइन । नेपाली समाजको अर्थ राजनीतिक अवस्थालाई गहिरोसँग विश्लेषण गर्ने हो भने सहजै अनुमान लगाउन सकिन्छ यस्ता थुप्रै प्रकाशहरु विभिन्न बाध्यताले परिवारबाट बिछोडिएका छन् । आर्थिक अभावका कारण परिवारले राम्रो लालनपालन गर्न नसक्दा बालबालिकाहरुमा उत्पन्न हुने मानसिक समस्याहरुले समाजलाई गिजोलिरहेकै छ । समाजको यही अवस्थाको परिणाम स्वरुप प्रकाश विरक्तिएर परिवारसँग बिछाड भए । यो एउटा प्रतिनिधिमुलक घटना मात्र हो ।
सरकार र अन्य सरोकारवालाहरुले बरु यस्ता कति ‘प्रकाश’ गुमनाम छन् खोजी गर्नु पर्दछ । यस प्रकारको आर्थिक–सामाजिक अवस्थाको अन्त्य गर्न सरकारले विशेष कार्यक्रमहरु घोषणा गरोस । मानौं यही घटना नै पहिलो र अन्तिम हो भन्ने जस्तो व्यवहार कसैले नदेखाउँ ।
प्रतिक्रिया