दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’को आयोजना हुँदै, १४ स्थानमा पार्किङको व्यवस्था

विहीबार, ०३ असोज २०८१, १० : ५३

काठमाडौँ- संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’को आयोजना हुँदैछ।

अपराह्न ४ बजेदेखि सुरू हुने कार्यक्रमका लागि विभिन्न ठाउँमा ट्राफिक प्रहरीले डाइभर्सन गरेको छ। यस्तै १४ वटा स्थानमा पार्किङको व्यवस्था समेत गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल, जयनेपाल र तीनधारा पाठशालाबाट कार्यक्रमस्थलतर्फ जाने सवारीसाधनहरू कार्यक्रम अवधिभर पूर्ण रूपमा डाइभर्सन गरिने भएको छ।

पहिलो चरणमा लैनचौरबाट केशरमहलतर्फ, नागपोखरी तल्लो मोडबाट जयनेपाल चोकतर्फ, कृष्ण पाउरोटीबाट जयनेपालतर्फ, कमलादी मोडबाट गणेशस्थानतर्फ, भोटाहिटीबाट जमलतर्फ र ठमेल संचय कोषबाट केशरमहलतर्फ डाइभर्सन गरिने कार्यालयले जनाएको छ।

त्यस्तै दोस्रो चरणमा बालाजुबाट सोह्रखुट्टे हुँदै लैनचौरतर्फ, सामाखुशीबाट लैनचौरतर्फ, नारायणगोपाल चोकबाट खानीविभागतर्फ, सुकेधाराबाट विशालनगरतर्फ, गौशालाबाट रातोपुलतर्फ, माइतीघरबाट सिंहदरबार, भद्रकालीतर्फ, भद्रकालीबाट नागस्थानतर्फ र त्रिपुरेश्वरबाट नागस्थानतर्फ डाइभर्सन गर्ने जनाएको छ।

कार्यक्रमस्थलमा जानेहरूका लागि भने विभिन्न ठाउँमा पार्किङको व्‍यवस्था गरिएको छ। कार्यालयले १४ वटा स्थानमा पार्किङ गर्न सक्ने जनाएको छ।

विहीबार, ०३ असोज २०८१, १० : ५३

प्रतिक्रिया