काठमाडौं - तीन दिनदेखि परेको घनघोर वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जाँदा सडकहरु अवरुद्ध भएका छन् । मानिसहरुको सहज आवागमन रोकिएको छ । सबै किसिमको यातायात व्यवस्था अवरुद्ध भएको छ ।
आज पनि निरन्तर झरीपर्ने मौसमविद्ले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर झरी पर्ने छ । केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।
नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।
राजधानी काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ । अविरल वर्षाका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्नेहरुको दैनिकी झनै कष्टकर बनेको छ । यद्यपी प्राकृतिक प्रकोपको बुद्धिमतापूर्वक सामना गर्नुको कुनै विकल्प छैन ।
नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान ७ बजेसम्म १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलमा पुगेको छ । अरु त्यति संख्यामा बाढी मापन केन्द्रमा बाढीको सतह खतराको संकेत पुग्दै छ । त्यसैले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
यसैगरी बिहान ७ बजेसम्म १०५ वटा वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाले चेतावनीको तह पार गरेको छ । पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । पाल्पामा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा भएको छ ।
यस्तो विपदको बेला नागरिकले राज्यको अभिभावकत्व महसुस गर्नुपर्दछ । संकटको बेला नै सरकार चाहिने हो । सरकारको विपद व्यवस्थापन संयन्त्रको प्रभावकारी परिचालन यतिबेलै गर्ने हो । देशका विभिन्न भागमा नागरिकहरु विचल्लीमा परेका समाचारहरु आइरहेका छन् । त्यहाँ सरकारको प्रभावकारी उपस्थिति हुन नसकेको गुनासो पनि आएको छ । यसतर्फ सरकारको सम्पूर्ण तागत परिचालन होस ।
प्रतिक्रिया