माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी

शनिबार, ०३ कार्तिक २०८१, १२ : ०३

काठमाडौँ - दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी र पहिरोले बाँध क्षेत्रका संरचना हेडवर्क्समा क्षति पु¥याएपछि बन्द भएको उक्त आयोजना मर्मत सम्भार गरेर आंशिकरुपमा सञ्चालनको तयारी भइरहेको आयोजनाले जनाएको छ 

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध नजिकैको भवन पहिरोले पुरिँदा चार जनाको मृत्युसमेत भएको थियो ।

आयोजनाका अनुसार प्रवेशमार्ग काभ्रेभीर सडकमा क्षति पुगेका कारण बाँधस्थलमा उपकरण लैजान कठिनाइ भएको छ । यसबाट मर्मत गर्न समय लागेको उहाँको भनाइ छ । बाँधमा थुप्रिएको ढुङ्गा, बालुवा, गिट्टीलगायत सामग्री सफा गर्ने काम सकिएपछि बाँध मर्मत कार्य अघि बढाइने छ ।


विद्युत्गृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएका कारण आवतजावत गर्न समस्या भएको छ ।  पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा र लेदो थुप्रिएको छ । बाढी पहिरोबाट रु दुई अर्बको क्षति भएको बताइएको छ । 

विद्युत् उत्पादन बन्द हुँदा दैनिक रु चार करोड आम्दानी गुमाउनु परेको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण मर्मत कार्य सम्पन्न गर्न कम्तीमा ६ महिना लाग्ने अनुमाान गरिएको छ ।

शनिबार, ०३ कार्तिक २०८१, १२ : ०३

प्रतिक्रिया