काठमाडौं- नेपालका नेताहरुको आर्थिक आम्दानीको स्रोत सदैव रहस्यमय देखिने गरेको छ । सार्वजनिक सेवामूलक कार्य भन्दै पूर्णकालीन राजनीतिमा होमिएका नेताहरुको जीवनशैली निकै वेभवशाली देखिन्छ। उनीहरुको अपारदर्शी र अघोषित आर्थिक उपार्जनका विभिन्न माध्यम भने समय समयमा बाहिरिँदै पनि आएको छ।
अहिले एक व्यापारी घरानाले मुलुककै दोस्रो ठूलो दल एमालेलाई पार्टी कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेको विषय निकै चर्चामा छ। विवादास्पद व्यापारी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान गर्दै पार्टी कार्यालय समेत बनाइदिने घोषणा गरेसँगै उक्त भवनको शिलान्यास समेत गरिएको छ।
उनले कीर्तिपुरमा पार्टी कार्यालय निर्माण गर्न दिएको जग्गामा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यही असोज २५ गते शिलान्यास समेत गरिसकेका छन्। कतिपय सरकारवादी मुद्दामा दोषी ठहर र अन्य विभिन्न मुद्दा अदालतमा विचाराधिन रहेका व्यापारी गुरुङले सत्तारुढ एमालेलाई जग्गा दान गरेपछि एमालेकै नेताहरुले समेत विरोध गरेका थिए।
यद्यपि एमालेले भने पार्टीको संस्थागत निर्णय भएको भन्दै ती विरोध गर्ने नेताहरुको अभिव्यक्ति पार्टी निर्णय विपरित भएकाले स्पष्टीकरण सोध्ने बताएको छ। यो जग्गा दानको विरुद्धमा सर्वोच्चमा रिट समेत परे पनि यसबारे निर्णय हुन बाँकी छ।
विभिन्न मुद्दा खेपिरहेका गुरुङलाई सहुलियत दिने हेतुले उनले एमालेलाई जग्गा दान दिएको भन्दै एमालेको सुशासनको नारालाई उपहास गरेको भन्दै सार्वजनिक आलोचनाको ग्राफ पनि त्यसयता निकै बढेको छ ।
यसबाहेक शीर्ष नेताहरुको व्यापारीसँगको सम्बन्ध भने यस अघि विभिन्न समयमा उजागर हुँदै आएकै हो। वर्तमान सरकार गठनको निर्णायक सहमति नै एक व्यापारी घरानामै भएकाले यो सरकार निर्माणको आधार नै यस्तै प्रयोजनका लागि भएको आरोप समेत लगाइन्छ।
व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा गत असार १७ गते मध्यरातमा कांग्रेस एमालेका शीर्ष नेताहरुले वर्तमान सरकार गठन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए। शीर्ष नेताहरुको व्यापारी मोह उनीहरुबाट आर्थिक लाभ लिने र सो बापत व्यापारीलाई सहुलियत दिने प्रयोजनका लागि हुने गरेको घटनाक्रमले दर्शाउँछ।
एमालेलाई सार्वजनिक रुपमै जग्गा दान दिएपछि बाहिरिएको यो विषय जस्तै अर्का व्यापारी दुर्गा प्रसाईंले पनि एक शीर्ष नेताका सन्ततीलाई निजी प्रयोजनका लागि घर बनाउन करोडौं सहयोग गरेको सार्वजनिक मिडियामा बताउँदै आएका छन्।
उनले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्री रेणु र गंगालाई घर बनाउन करोडौं रुपैयाँ सहयोग गरेको बताइरहेका छन्।एकातिर एमाले अध्यक्ष ओलीले आफ्नो दलको भवन बनाउन व्यापारीबाट जगा दान ग्रहण गरेका छन् भने अर्का माओवादी अध्यक्ष प्रचण्डपुत्रीले पनि आफ्नो निजी प्रयोजनका लागि व्यापारीबाटै करोडौं रकम लिएको व्यवसायी प्रसाईंले जनाएका छन्।
तथापि माओवादी अध्यक्ष प्रचण्ड परिवारले मेडिकल व्यापारी प्रसाईंको अभिव्यक्तिको सार्वजनिक स्वीकारोक्ति भने गरिसकेको छैन। यसअघि माओवादी, एमाले हुँदै राजावादी बनेका मेडिकल व्यवसायी प्रसाईंको आक्षेप सही हो भने प्रचण्ड परिवारले ओलीको जग्गा ग्रहणको विरोध गर्ने नैतिक अधिकार राख्न सक्दैन।
अझैं ओलीले संस्थागत प्रयोजनका लागि जग्गा ग्रहण गर्दै भवन निर्माणको प्रस्ताव स्वीकारेका हुन् ।तर प्रचण्ड पुत्रीले भने आफ्नो व्यक्तिगत प्रयोजनका लागि अघोषितरुपमा करोडौं दान लिएका हुन्।
यसर्थ प्रचण्डले एमालेको जग्गा ग्रहणलाई सुशासन विरोधी एजेण्डा बनाएर विरोध गर्नुको कुनै तुक छैन। सर्वप्रथम व्यवसायी प्रसाईंको आरोप गलत भए खण्डन र सत्य भए स्वीकार नगरुञ्जेल एमालेलाई आक्षेप लगाएर आफू सही सावित हुने चेष्टा अशोभनीय हुन्छ । पारदर्शी तवरले जग्गा ग्रहण गरेका ओलीको तुलनामा अघोषित रुपमा आफ्नो पारिवारिक उत्थानका लागि करोडौं रकम लिनु आर्थिक अपारदर्शिताको चरम नमुना हो ।
यसले नेताहरुको वैभवशाली जीवनको स्रोत विवादास्पद व्यापारी मार्फत लिइने आर्थिक सहयोग नै रहेको प्रमाणित गर्दछ। तिनै नेताहरुले दिने सुशासनको गफ अपत्यारिलो मात्रै होइन हास्यास्पद सावित हुन्छ।
प्रतिक्रिया