काठमाडौं। भ्रष्टाचार विरोधी अभियान्ता भरत जंगमले साई स्वागत सहकारीको रकम अपचलनमा संलग्न भएको काठमाडौं महानगरले तयार गरेको प्रतिवेदनमा नाम उल्लेखित आरोपी निकिता पौडेलको बचाउमा उत्रिएका छन्।
उनले आफू अध्यक्ष रहेको उक्त सहकारीको उपाध्यक्ष बनाएर रवि लामिछाने पत्नी निकिता पौडेललाई रकम प्रदान गरेको सार्वजनिकरुपमै स्वीकार गर्दै आइरहे पनि निकिताको कुनै दोष नरहेको बताउँदै आएका छन्।
तत्कालीन अवस्थामा जंगम अध्यक्ष र निकिता उपाध्यक्ष रहेको उक्त सहकारीमा करोडौं रकम अपचलन भएको उजुरीपछि काठमाडौं महानगरले अनुसन्धान थालेको थियो। महानगरले तयार गरेको अनुसन्धान प्रतिवेदनमा सर्वसाधारणको करोडौं बचत रकम अपचलन भएको र त्यसमा निकिताको संलग्नता रहेको समाचार सार्वजनिक भएको छ।
निकिताका पति रास्वपाका सभापति रवि लामिछाने पनि मुलुकका विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याएर आफ्नै नाममा खर्च गरेकाले संसदीय समितिले कारबाहीका लागि सिफारिस गरेको थियो। अहिले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति लामिछानेको पक्षमा अहिले उनको दल आन्दोलित भएको छ। पोखरा, काठमाडौं लगायतका सहरमा लामिछाने पक्राउको विरोधमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन्।
देशभरका विभिन्न सहकारी ठगी प्रकरणका मुख्य आरोपी रहेका गितेन्द्रबाबु राई(जिबी) गोर्खा मिडियाको अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेका थिए। यी दुबैको साझेदारीमा गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजन लामिछानले पूर्वसहमति विपरित छाडेर राजनीतिमा हाम फालेका थिए।
करिब सात वर्ष टेलिभिजनमा काम गर्ने सहमति भए पनि तीन वर्ष नबित्दै लामिछानेले टेलिभिजन छाडेपछि वर्तमान अवस्था निम्तिएको गोर्खा मिडियाका अर्का सञ्चालक कुमार रम्तेलले सहकारी छानबिन संसदीय समिति समक्ष बयान दिएका थिए।टेलिभिजन छाडेर राजनीतिमा होमिएसँगै छोटो समयमै आफ्नो दल रास्वपालाई राष्ट्रिय दल बनाएर आफू दुई पटक उपप्रधानमन्त्री सहित गृहमन्त्री बन्न पनि सफल भए।
अहिले यिनै लामिछाने दम्पतिको पक्षमा भ्रष्टाचार विरोधी अभियान्ता जंगम उत्रिएका छन्। भ्रष्टाचार विरोधी एकेडेमी सञ्चालन गर्दै आएका यिनै जंगम चर्चित पुस्तक ‘कालो सूर्य’का लेखक हुन्।कुनै समय जंगम अध्यक्ष रहेको साई स्वागत सहकारीको रकम अपचलनको उजुरी परेपछि काठमाडौं महानगरले छानबिन सुरु गरेको थियो। रवि पत्नी निकिता तत्कालीन समयमा सोही सहकारीमा उपाध्यक्ष रहेकी थिइन्।
काडमाडौं महानगरले छानबिन सुरु गरेपछि रास्वपाका नेताहरुले महानगरमै पुगेको निकितालाई संलग्न नदेखाउन धम्की दिएको समाचार समेत प्रकाशित भएको छ भने रवि आफैंले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई सिंहदरबारमा बोलाएर आफ्नो पत्नीलाई जोगाइदिन आग्रह गरेको विषय पनि सार्वजनिक भएको छ।
दोस्रो कार्यकाल उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको पदमा आसिन रहेको बेलामा लामिछानेले आफ्नो पत्नी निकितिालाई जोगाउन महानगर प्रमुख बालेनलाई सिंहदरबारमै बोलाएर आग्रह गरेपछि यस विषय थप शंकास्पद बनेको थियो।
अहिले भ्रष्टाचार विरोधी एण्टी करप्टेड एकेडेमी पनि सञ्चालन गर्दै आएका राजसंस्था पुनस्र्थापनाका पक्षधर जंगमले उनै निकिताको पक्षमा सार्वजनिक मिडियामा अन्तरवार्ता दिँदै आएका छन्। राजनीतिक विश्लेषककारुपमा विभिन्न युट्युब मिडियामा अन्तरवार्ता दिने जंगम अध्यक्ष रहेको समयमै साई स्वागत सहकारीको उपाध्यक्ष रहेकी निकिता निर्दोष रहेको जिकिर गर्दै आइरहेका छन्।
उनले तिनै युट्युबरसँगको अन्तरवार्तामा रवि र उनकी पत्नी निकितालाई निर्देाष सावित गर्ने प्रयत्न गर्दै लामिछानेकोे सहकारी ठगीको विषय जिल्ला अदालत कास्कीमा प्रवेश गरेको विषयमा समेत उनको पक्षमा धारणा व्यक्त गर्ने गरेका छन्। हाल सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सुप्रिम सहकारीको रकम अपचलनको अनुसन्धानमा समेत जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति प्रदान गरिसकेको छ ।
अदालतमा प्रवेश गरिसकेको यो विषयलाई भ्रष्टाचार विरोधी अभियान्ता जंगमले भने निर्दोष रहेको स्वघोषणा गर्दै हिँडेका छन्। अदालतमा प्रक्रियारत मुद्दाको विषयमा सार्वजनिक धारणा जाहेर गरेर त्यसलाई प्रभावित पार्ने कार्य सरासर गलत कार्य मात्रै होइन अदालतको अवहेलना हो।
आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउँदै जंगमले भ्रष्टाचार विरोधी अभियानको सिद्धान्तकारका रुपमा स्वघोषित दावा गर्दै आएका छन्। लाखौं श्रमिकहरुको रकम अपचलनको सार्वजनिक आरोप लागेकाको बचाउमा उत्रिनु उनको भ्रष्टाचार विरोधी अभियान विपरित कार्य हो।
सामान्य गरिब श्रमिकले दैनिक ज्यालादारी कामबाट आर्जन गरेको रकम सहकारीमा बचतका लागि राख्दा त्यसलाई सुरक्षित तवरले व्याजसहित फिर्ता गर्नुको साटो तिनैको रकम अपचलन गर्नु भ्रष्टाचारजन्य कसुरसँगै गम्भीर आपराधिक कार्य हो ।
यस प्रकारको ठगीमा संलग्न रहेको आरोप लागेकालाई कानुनी दायरामा ल्याएर अनुसन्धान गरि दोषी भए कानूनी कारबाही गरेर पीडितको रकम ससम्मान फिर्ता गर्नु नै सुशासन कायम गराउने न्यायिक कार्य हो।
तथापि आरोप लागेकाहरुलाई अनुसन्धानरत निकायले छानबिन गरिरहेको विषयलाई प्रभावित तुल्याउन निर्दोष स्वघोषणा गर्ने कार्य आरोपीलाई अनुसन्धान नगरेरै उन्मुक्ति दिने प्रपञ्च हो। यस प्रकारका कार्यले जंगमको भ्रष्टाचार विरोधी अभियान निरर्थक सावित गराउँछ।
तर, अभियान्ता जंगम भने आफूले कसैप्रति पक्षधरता नदेखाएको दाबी गर्दछन्। आजको अर्थसँगको कुराकानीमा जंगमले अदालतमा प्रक्रियारत मुद्दा प्रभावित पार्नेगरी आफूले अभिव्यक्ति नदिएको प्रष्ट पार्ने प्रयत्न गरे।
उनले भने,‘ मैले कसैको पक्षधरता देखाएको होइन। रविको मुद्दा अदालतमा प्रवेश गरिसकेकाले त्यसबारेमा मैले केही बोलेको छैन । तर तत्कालीन अवस्थामा म अध्यक्ष रहेको सहकारीको अध्यक्ष रवि पत्नी निकिता रहेकाले मेरो जानकारीमा भएसम्मको उनको असंलग्नताको विषयमा बोलेको हुँ।’
उनले आफू अध्यक्ष रहँदा निकिता उपाध्यक्ष रहेर ५० लाख लगेको र पछि फिर्ता दिएको जनाउँदै उनको विषयमा मात्रै जानकारी भएको बताए। निकिताका पति लामिछानेको बचाउमा आफूले कतै नबोलेको जिकिर गरे। रविको सहकारीमा संलग्नताको सन्दर्भ फरक भएकाले त्यसमा निकितालाई जोडेर आरोपित गर्न नहुने उनले तर्क गरे।
प्रतिक्रिया