रास्वपाको आन्दोलन : दिउँसो प्रधानमन्त्रीविरुद्ध आक्रामक नाराबाजी,  साँझमा भेटघाट

बुधबार, १४ कार्तिक २०८१, १२ : ४०

काठमाडौं- पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगेपछि रास्वपा आन्दोलित भएको  छ।

पार्टी सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरिएको बताउँदै आन्दोलित बनेको रास्वपाले हालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपले सडकमा प्रस्तुत हुने गरेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचललनमा संलग्न रहेको आरोपमा सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन्। रास्वपाले पोखरामा देशभरका कार्यकर्ता ओरालेर आन्दोलन गर्दै आएको थियो। 

केही दिनयता काठमाडौं केन्द्रित आन्दोलनमा रास्वपा होमिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा आन्दोलन गरेको रास्वपा आक्रामकरुपमा प्रधानमन्त्री ओली विरुद्ध उत्रिएको छ ।

उसोत सभापति लामिछानेले पनि कास्की प्रहरीको हिरासतबाहिर सञ्चारकर्मीहरुसँगको  कुराकानीमा वर्तमान ओली सरकार भ्रष्टचारीको संरक्षक भएको र यसको बहिर्गमन मुलकका लागि हितकर हुने अभिव्यक्ति दिएका थिए।

रास्वपाले प्रधानमन्त्री ओलीको पुत्लादहनदेखि आक्रामक नाराबाजी र सहकारी ठगी प्रकरणमा आफू निकटलाई जोगाएर सभापतिलाई फसाइएको आरोप लगाएको छ।

तर, दिउँसोमा प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक नाराबाजी गर्ने रास्वपाका नेताहरु आन्दोलन जारी रहेकै बेलामा सोमबार साझँ बालुवाटार पुगेर सभापति लामिछानेलाई जोगाइदिन आग्रह गर्ने गरेको तथ्य बाहिरिएको छ।

मंगलबार एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत रास्वपाका नेताहरुले दिउँसो प्रधानमन्त्रीविरुद्ध आक्रामक र अशोभनीय हर्कत गरेर बेलुका प्रधानमन्त्री भेटेर आफ्नो सभापतिलाई जोगाइदिन हारगुहार गर्ने गरेको भन्दै नैतिक प्रश्न उठाएका थिए।

उनले लेखेका थिए, ‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसॉस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ? यति हेक्का राखे हुन्छ–राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहॉले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न।’ 

रास्वपाका सभापति लामिछाने प्रहरी हिरासतमा पुगेपछि अघोषितरुपमा कार्यवाहक सभापतिको जिम्मा डोलप्रसाद अर्याल(डिपी)ले सम्हालेका छन्। उनै डिपी र संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। 

भेटको विषय सभापति लामिछानेकै रिहाइका लागि आग्रह गरिएको एमाले नेता रिजालले बताए पनि रास्वपाका नेताहरुले भने सार्वजनिक जानकारी गराएका छैनन्।

यस बारेमा भेटमा सामेल रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग सम्पर्क गर्दा उनले प्रधानमन्त्रीलाई आन्दोलनकै समयमा सोमबार साझँ भेटेको स्वीकार गरे। 

उनले आजको अर्थसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीसँग भेट्नै हुँदैन भन्ने होइन, हामी मुलुकको चौथो राजनीतिक दलले प्रधानमन्त्रीलाई भेट्नु के अनौठो भयो र!’

आन्दोलनकै क्रममा भेटे पनि सभापति छुटाउन हार गुहार नगरेको उनको जिकिर छ। प्रमुख सचेतक परियारले सहकारी ठगी प्रकरणमा संलग्नताको आरोप लागेका सबैलाई कानुन बमोजिम अनुसन्धान गर्न माग गर्दै कसैलक्षित प्रतिशोध साँधेर दुख दिने नियत सरकारले नराखोस् भनेर सचेत गराएको जानकारी दिए।  

बुधबार, १४ कार्तिक २०८१, १२ : ४०

प्रतिक्रिया