चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

सोमबार, १९ कार्तिक २०८१, ११ : ५०

काठमाडौँ - त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।  

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। दसैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२।५ मेगावाटको साञ्जेनसहित  रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको प्राधिकरणले जनाएको छ  । रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतनै २२०\१३२\३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । त्रिशूली थ्रि बी हब सबस्टेसनमा आएको विद्युत् काठमाडौंको मातातीर्थसम्मको त्रिशूली– काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुनेछ । सान्जेन र रसुवागढी जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडी चिलिमे–त्रिशूली प्रसारण लाइन हुँद राष्ट्रिय प्रणालीमा समाहित हुनेछ । 

२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि।सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । 

उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको प्राधिकरणको उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्क बहादुर थापाले बताए । 

सोमबार, १९ कार्तिक २०८१, ११ : ५०

प्रतिक्रिया