काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको छ।
जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न दिएको म्याद १४ गते सकिए पनि तिहार बिदाका कारण लामिछाने प्रहरी हिरासतमै रहेका थिए। आज (मंगलबार) अदालत खुलेसँगै उनलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो। जिल्ला अदालत कास्कीले दुईपटक म्याद थप गरेर बयान लिइसकेको छ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रुपमा गोर्खा मिडिया प्रा।लिमा लगेको भन्दै लामिछानेमाथि अनुसन्धान थालिएको हो। लामिछाने गोर्खा मिडियाले चलाएको ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक तथा प्रवन्ध निर्देशक हुन्।
सहकारी ठगी र संगठित अपराधमै पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थप गर्न अदालतमा उपस्थित गराइएको छ। जोशी गोर्खा मिडियाका पूर्वउपाध्यक्ष हुन्। उनलाई पनि सहकारीको पैसा टेलिभिजनमा लगेर अपचलन गरेको भन्दै उक्त अभियोग लागेको हो।
लामिछानेलाई कास्की प्रहरीले अनुसन्धान सकाएर फेरि बुटवल लैजाने तयारी गरेको छ। गत साता नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लामिछानेलाई बुटवलमा उपस्थित गराउन कास्की प्रहरीलाई पत्राचार गरेको थियो।
बुटवलको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।
प्रतिक्रिया