छठको शुभकामना दिँदै प्रचण्डले भने- समृद्धिको बाटोमा अघि बढ्ने प्रेरणा मिलोस्

विहीबार, २२ कार्तिक २०८१, ०९ : ०७

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जामार्फत तराईबासी जनतासहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई समृद्धिको बाटोमा अघि बढ्ने प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका छन्। 

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ ।

उनले भनेका छन् 

नेपालको तराई–मधेशमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु। 

मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ । छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका खेल्दछ । 

छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

विहीबार, २२ कार्तिक २०८१, ०९ : ०७

प्रतिक्रिया