एमाले सांसदका एक पछि अर्को काण्ड सतहमा, प्रदेश सांसदको मानव तस्करी, संघीय सांसदको सहकारी ठगी

शुक्रबार, २३ कार्तिक २०८१, १२ : ०२

काठमाडौं- नेकपा(एमाले)का सांसदहरुको एक पछि अर्को काण्डले बजार तातिएको छ। सहकारी ठगीदेखि मानव तस्करीसम्मको आरोपमा एक पछि अर्को एमाले नेताहरु विवादमा तानिएका छन्। एमाले सांसदहरुलाई सहकारी ठगीदेखि मानव तस्करीमा संलग्नताको आरोपले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुशासनको नारालाई उपहास गरेको छ।

भर्खरै कोशी प्रदेशका मन्त्री समेत रहेका एमाले नेता लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश मन्त्री रहेका उनले प्रदेश सरकार र परराष्टै मन्त्रालय दुबैलाई नै जानकारी नदिएर अवैध रुपमा केही मानिस जापान लगेको आरोप लागेको हो। उक्त आरोप पछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिन बाध्य भएका छन्।

उनले जापानमा आयोजित एक कार्यक्रममा किर्ते कागजात बनाएर केही नेपालीलाई लगेका थिए। उनीसँगै जापान हिँडेका ६ जनालाई प्रहरीले पक्राउ  गसिकेको छ। अधिकारीलाई भने सत्ताको आडमा कानुनी दायरामा ल्याइएको छैन।

त्यस्तै,सार्वजनिक लेखा समितिका सभापति रहेका एमाले नेता ऋषिकेश पोखरेल मोरङको एक सहकारीको रकम अपचलनमा मुछिएका थिए। उनले आफ्नो श्रीमतीलाई सहकारीको सञ्चालक समितिमा राखेर रकम अपचलन गरेको आरोप लागेको छ।

मोरङ धनपाल गाउँपालिका ४ स्थित उमा गौरी सहकारीमा १८ करोड ५१ लाख कुल पुँजी रहेको उक्त सहकारीको १२ करोड रुपैयाँ रकम अपचलन भएको विवरण सार्वजनिक भएको थियो। मोरङ ४ बाट निर्वाचित सांसद पोखरेलकीे श्रीमती रञ्जला कोइराला उक्त सहकारी संचालक समितिको सदस्य रहेकै बेला १२ करोड रकम हिनामिना भएको आरोप लागेको हो।

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछोन लक्षित संसदीय छानबिन समितिले उनलाई कारबाहीको लागि सिफारिस गरे पनि  पोखरेललाई भने उन्मुक्ति दिएको छ। रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा पुग्दा लेखा समितिका सभापति पोखरेल अनुसन्धानको दायरामा आएका छैनन्।

यसैगरी कांग्रेस पृष्ठभूमि भएर पनि आर्थिक सम्पन्नता र त्यसैको बलमा एमालेबाट समानुपातिक सांसद बन्न सफल प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन पनि  सहकारी ठगी प्रकरणमा मुछिएका छन्। उनलाई सहकारीको करिब ९८ करोड भन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ। 

प्रभु ग्रुपका अध्यक्ष रहेका भट्टचनलाई सोही ग्रुप अन्तर्गतको प्रभु म्यानेजमेण्टकी अध्यक्ष कुसुम लामाले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा जाहेरी दिएकी हुन्। भट्टचन र लामा व्यावसायिक साझेदार समेत हुन् । तर पछिल्लो समय दुबैबीच व्यावसायिक किचलो बढेपछि मुद्दा मामिलाको तहमा पुगेको हो।

एमाले सांसद रहेका भट्टचनको सत्ता र शक्तिको प्रभावले प्रहरीका कुनै पनि निकायले जाहेरी लिन अस्वीकार गरेपछि सरकारी वकिलको कार्यालयमा लामाले जाहेरी दिएकी हुन्। 

सांसद भट्टचनले विदेशबाट प्रभु प्रभु मनि ट्रान्सफर मार्फत आएको रेमिट्यान्स  रकम उतै बुझ्ने गरेको र यता विभिन्न सहकारीको रकमबाट सो बापतको रकम भुक्तानी दिने गरेका थिए। ती सहकारीहरुले प्रभु ग्रुप मार्फत रकम नपाएपछि यो प्रकरण बाहिरिएको हो।

यसैबीच प्रभु मेनेजमेन्टले सांसद भट्टचनबाट रकम असुल उपर गरेपछि सम्बन्धित सबैको रकम भुक्तानी गरिने जनाएको छ। प्रभु मेनेजमेन्टले  नेपाल राष्ट्र बैंक समक्ष हाल देखिएको सहकारी संस्थाको रेमिट्यान्स बापत भुक्तानी गर्नुपर्ने विषयलाई लिएर प्रभु मनि ट्रान्सफरलाई भुक्तानीको व्यवस्था गराउन दबाबमूलक भूमिका खेल्न समेत अनुरोध गरिएको रकम ल्याइएका सहकारीलाई पत्राचार गर्दै जानकारी गराएको छ।

यस विषयमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पदीय मर्यादा विपरितका कार्य गर्ने सबै कारबाहीको भागीदार हुने बताउँछन्। शुक्रबार आजको अर्थसँगको कुराकानीमा प्रचार विभाग प्रमुख गौतमले आरोप प्रमाणित भए कोही अमुक व्यक्ति जोगाउन एमाले नलाग्ने प्रष्ट पारे।


 

शुक्रबार, २३ कार्तिक २०८१, १२ : ०२

प्रतिक्रिया