सत्ता गठबन्धन संकटमा पर्न लागेकै हो ?

आइतबार, २५ कार्तिक २०८१, १५ : १७

काठमाडौं - ओली नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा दरार पैदा हुन थालेको सत्ताधारी दलकै वरिष्ठ नेताहरुको अभिव्यक्तिबाट अनुमान गर्न सकिन्छ । नेपाली कांग्रेसका संस्थापन इतरका नेता शेखर कोइरालाले पूर्वाञ्चलका केही कार्यक्रमहरुमा सरकारप्रति तीब्र असन्तुष्टि प्रकट गरेको समाचार आए लगत्तै देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सत्तागठबन्धन आगामी निर्वाचनसम्म कायम रहने विश्वाश व्यक्त गरे।
सभापति देउवाले यस्तो बताए पनि शेखर कोइरालाले सरकारले सात बुँदे सहमति अनुसार अघि बढ्ने कुनै छाँट नदेखाएको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रणको सवालमा पनि प्रधानमन्त्री ओली बोल्ने एउटा र काम गर्ने अर्को देखिएको आरोप लगाएका छन् । दुई दलबीच गठबन्धन निर्माण गर्दा संविधानमा सुधार गर्ने मुख्य एजेण्डा रहेको भए पनि सरकारले त्यसको सुरसार नै नगरेकोमा उनको तीब्र असन्तुष्टि रहेको छ । 
सत्तासाझेदार दलका शीर्ष नेताहरुको परस्पर बिरोधी अभिव्यक्तिलाई विश्लेषकहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । नेपाली कांग्रेसकै कारण सत्ता गठबन्धन धरापमा परेमा कुनै आश्चर्य नहुने एमाले निकट एक वुद्धिजीवीले आजको अर्थलाई बताएका छन् । 
कांग्रेस – एमालेको गठबन्धन बनाउँदा उनीहरुले आफैले गरेको सहमति अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा सरकार चलाएको कांग्रेसमा छलफल हुन थालिसकेको छ । शेखर समूहलाई त झनै पार्टीभित्रैबाट बेवास्ता हुने गरेको छ । माओवादीसँगको समीकरण पनि शेखर समूहकै बिरोध र असन्तुष्टिका कारण भङ्ग भएको थियो । यसका साथै सरकारको सय दिनको कार्यावधि पनि सन्तोषजनक नभएको सन्दर्भमा सत्ता साझेदार दलमै सरकारलाई हेर्ने सवालमा फरक फरक दृष्टिकोण हुनुलाई स्वभाविक रुपमा हेर्न सकिदैन । सत्ता गठबन्धनमा भित्रभित्रै चर्को विवाद र असन्तुष्टि बढेकै कारण परिस्थिति बिग्रेको छैन भन्ने सन्देश दिन पनि देउवा र ओलीले सरकार अप्ठेरोमा नरहेको कुरा सार्वजनिक रुपमा बताइरहेका छन् । 

आइतबार, २५ कार्तिक २०८१, १५ : १७

प्रतिक्रिया