वनमन्त्री शाही ३२ जना लिएर अजरबैजान पुगे, राष्ट्रपतिको थप १२ सदस्यीय टोली आज जाँदै

आइतबार, २५ कार्तिक २०८१, १४ : ५४

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने अजरबैजानको कार्यक्रममा वन मन्त्रालयका करिब तीन दर्जन कर्मचारी यस अघि नै पुगिसकेका छन् । 

राष्ट्रपति पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ जान लागेका छन्।  

राष्ट्रपति पौडेल आइतबार पाँच बजे त्यसतर्फ प्रस्थान गर्न गर्ने उनको सचिवालयले जानकारी दिएको छ । तर यही कार्यक्रममा सहभागी हुन वन मन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा ३२ जना यसअघि नै त्यहाँ पुगेका छन्।

वनमन्त्री शाहीसहित मन्त्रालयका सचिव दीपक कुमार खरालसहितको ३२ जनाको जम्बो टोली अजबैजान पुगिसकेको वन मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले आजको अर्थलाई जानकारी दिए।

राष्ट्रपतिको आजको भ्रमण दलमा नरहे पनि सोही कार्यक्रममा सहभागी हुन वनमन्त्रालय कर्मचारी र मन्त्रीको सचिवालय सदस्यको टोली ठूलो संख्यामा त्यहाँ पुगेको हो। वन मन्त्रालयको टोली सोही कार्यक्रममा  सहभागी हुने तर आज प्रस्थान गर्ने राष्ट्रपतिको भ्रमण दलमा भने वन मन्त्रालयका कोही पनि कर्मचारी नभएको प्रवक्ता ढुंगानाले बताए।

देशको अर्थतन्त्र कमजोर भएको बेला राज्यलाई थप आर्थिक भार पार्नेगरी बनमन्त्रीले आफ्नो नेतृत्वमा जम्बो भ्रमण टोली अवरबैजान लगेर गएका हुन्।राज्यलाई भने यो भ्रमणले करोडौं आर्थिक भार थपेको छ।

वनमन्त्रीले आफ्ना  स्वकिय सचिवसहित वन मन्त्रालयका जम्बो टोली लिएर विदेश गएको प्रति चौतर्फी आलोचना सुरु भएको छ । यस कार्यक्रममा वन मन्त्रालयबाट तीन जनामात्रै सहभागी हुने गरी आमन्त्रण गरिएको थियो। तर वनमन्त्री शाहीकै जोडबलमा ३२ जनाको टोली त्यहाँ पुगेको हो।

यता, आज प्रस्थान गर्ने राष्ट्रपतिको टोली १३ सदस्यीय रहेको राष्ट्रपतिको सचिवाल स्रोतले जानकारी दिएको छ । राष्ट्रपतिको सचिवालय स्रोतले वन मन्त्रालयका टोली भने यस अघि नै गइसकेको र उक्त टोली आफ्नो भ्रमण दलका रुपमा नरहेको दाबी गरेको छ। आजको भ्रमण टोलीमा राष्ट्रपतिको कार्यालयबाट ९ जना र परराष्ट्र मन्त्रालयको ३ जनासहित १२ सदस्यीय टोली अजरबैजान प्रस्थान गर्न लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 


 

आइतबार, २५ कार्तिक २०८१, १४ : ५४

प्रतिक्रिया