आसेपासेको गुमराहमा प्रधानमन्त्री ओली, यस्तो छ ओलीको किचेन क्याबिनेट

आइतबार, २५ कार्तिक २०८१, १६ : ५९

काठमाडौं- प्रधानमन्त्री समेत रहेका नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा केही व्यक्तिहरु सधैंजसो रहिरहन्छन्। उनीहरु ओली सत्तामा हुँदा या नहुँदा पनि उनको किचेन क्याबिनेटका रुपमा ओलीको सन्निकट रहेर प्रभावमा पार्ने गर्दछन्। प्रधानमन्त्री ओलीलाई उनका किचेन क्याबिनेटका सदस्यहरुले गुमराहमा पारेर समेत कतिपय निर्णय गराउने गरेको बताइन्छ ।

ओलीले आफ्नो सचिवालयमा सदैब राख्ने पात्र हुन्, राजेश ब्रजाचार्य। ओलीको सामान्य सहयोगीका रुपमा सचिवालयमा भित्रिएका उनी अहिले सर्बाधिक प्रियपात्र हुन्। ओलीको स्वास्थ्य हेरचाहदेखि उनका नियमित भेटघाटको व्यवस्थापन पनि यिनै ब्रजाचार्यले गर्छन्। उनी राजनीतिक रुपमा भन्दा पनि ओलीको पारीवारिक सदस्य जसरी सदैब सचिवालयमा रहँदै आएका छन् ।

यस्तै, ओलीको राजनीतिक रुपमा अर्का खास पात्र हुन् पार्टी महासचिव शंकर पोखरेल । उनी ओलीकै रोजाइमा अर्का दाबेदार विष्णु पौडेललाई पछि पार्दै पार्टी महासचिव बन्न सफल भएका थिए । 

ओलीको विश्वासपात्रका रुपमा चिनिएका पोखरेल उनको अघोषित सल्लाहकार समेत हुन्। ओलीका हरेक निर्णय प्रक्रियामा प्रमुख भूमिका निर्वाह गर्ने उनै पोखरेलको अगुवाइमा कांग्रेस एमालेकोे पछिल्लो समीकरण बनेको हो।

यसैगरी, ओलीको निकटस्थ रहेर सधै सल्लाहकारको भूमिकामा रहनेमा पार्टी उपमहासचिव विष्णु रिमाल पर्छन्। उनी ओली प्रधानमन्त्री हुँदा सधैं राजनीतिक सल्लाहकारको भूमिकामा रहने गर्छन्। हरेक पटक ओली प्रधानमन्त्री हुँदा सल्लाहकार नियुक्त हुने रिमाल राजनीतिक रुपमा ओलीको निकै प्रिय विश्वासपात्र हुन्।

ओलीका हरेक कार्यमा सहभागिता जनाउने र निर्णय प्रक्रियामा हाबी हुने गरेका रिमालले जहिल्यै ओलीको सल्लाहकार हुने सौभाग्य पाउनुमा ओली र उनी निकटसँगको विभिन्न व्यावसायिक साझेदारीले प्रमुख भूमिका खेलेको बताइन्छ। 

रिमाल आफ्नो छोराको कारणले पनि बारम्बार विवादमा आउने गर्दछन्। राज्य शक्तिको पहुँच प्रयोग गरी विविध व्यवसाय गर्दै आएका रिमालका छोरा क्षितिजको विवादास्पद क्रियाकलाप समयसमयमा सार्वजनिक हुने गरेको छ। यी सबैको संरक्षण बुबा रिमालसहित प्रधानमन्त्री ओलीले गर्दै आएका छन्।

यस्तै, नेपाल राष्टै बैंकका पूर्वगभर्नर रहेका  पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा पनि ओलीको प्रिय पात्रमा पर्दछन् । ओलीको निटस्थ रहेर उनले ब्रगेल्ती लाभ लिएका छन्। 

दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा ओलीले खतिवडालाई अर्थमन्त्री बनाएका थिए। पूर्णकालीन राजनीतिक पृष्ठभूमि नभएका पूर्वगर्भनर खतिवडा ओलीकै प्रिय पात्र र एउटै जिल्ला झापाबासी भएकाले उक्त अवसर प्राप्त गर्न सफल भएका थिए।

अर्थमन्त्रीमै रहँदा राष्ट्रियसभाको पदावधि सकिएपछि ओलीले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेका थिए। अहिले उनै खतिवडा हाल प्रधानमन्त्री रहेका ओलीको आर्थिक सल्लाहकारको भूमिकामा छन्। 

हालका अर्थमन्त्री विष्णु पौडेल पनि ओलीका प्रिय पात्र हुन्। तर पार्टीमा पौडेल र पोखरेल एक अर्काका तीव प्रतिस्पर्धी मानिन्छन्। ओलीले आफ्नो क्याबिनेटमा पौडेललाई अर्थमन्त्री बनाए पनि राजनीतिक रुपमा पौडेलकै प्रतिस्पर्धी पोखरेललाई निकट राख्ने गरेकाले यिनी पछिल्लो समय रुष्ट भएको बताइन्छ।

यी नेताद्वयले तल्लो तहसम्म आ-आफ्नै गुट सञ्चालन गरिरहेका छन् । ओलीले उपमहासचिव रहेका पौडेललाई भन्दा महासचिव पोखरेललाई बढी महत्व दिएपछि ओलीसँगको सम्बन्धमा दरार आएको एमाले वृत्तमा चर्चा छ। 

ओलीका अर्का प्रिय पात्र हुन्, एमालेमा रुखो र खरो अभिव्यक्तिको पर्याय बनेका गोकुल बास्कोटा। उनी काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी सञ्चारमन्त्री हुँदा सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा रकम बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनलाई नेपाली राजनीतिक वृत्तमा ७० करोडको संज्ञा दिँदै सोही नामकरण गरिएको छ।

ओलीको विश्वास पात्र रहेका बास्कोटा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा उनकै निवास बालकोटमा बस्ने गर्दथे। आफ्नो घर निर्माण नभएसम्म ओली निवासमा परिवारसहित बसेका बास्कोटा घर निर्माण सम्पन्न भएपछि मात्रै भक्तपुरको लोकन्थली फाँटमा स्थित आफ्नो निवासमा सरेका थिए। 

एमालेमा रुखो र खरो बोलीको पर्याय बनेका अर्का सुर्य थापा पनि प्रधानमन्त्री ओलीका प्रिय पात्र हुन्। उनी ओलीसँगकै निकटताले छोटो समयमै राजनीतिक उचाइ हासिल गर्न सफल भएका छन्। गत निर्वाचनमा प्यूठानबाट प्रत्यक्ष निर्वाचित भएका थापा त्यसअघि ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए। एमालेको दलीय पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका थापा ओलीसँगको निकटताले छोटो समयमै पार्टीको पोलिब्यूरो सदस्यमा पुगेका छन्।

ओलीको निकट रहेर विभिन्न कसुर गरे पनि उन्मुक्ति पाउँदै आएका अर्का प्रिय पात्रमा एमाले नेता महेश बस्नेत पर्छन्। उनी प्रधानमन्त्री ओलीको विश्वासपात्र मध्ये एक हुन्। गुण्डागर्दी पृष्ठभूमि भएका अराजक शैलीका बस्नेत एमालेमा युवा परिचालन गर्ने क्षमता भएकाले ओलीको नजरमा परेको बताइन्छ।   

उनलाई तत्कालीन एमाले र माओवादी एकतापछि बनेको नेकपाको सरकार रहेकै बेलामा एक सांसद अपहरण गरेको आरोप लागेको थियो। हालसालै फेरि एक युवतीले उनै बस्नेतविरुद्ध जर्बजस्ती करणी गरेको र पटक पटक गर्भपतन गराएको भन्दै सप्रमाण मुद्दा दायर गर्दा समेत राज्यशक्तिको प्रयोग गरेर बस्नेतले त्यसलाई कमजोर बनाएका थिए। प्रहरी र अदालतमा उक्त युवतीले दायर गरेको मुद्दा समेत शक्तिकेन्द्र प्रयोग गरेर बस्नेतले कमजोर बनाएको आरोप लागेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएको यो प्रकरणलाई निस्तेज पार्न उनले केही युवा लगाएर आफूलाई कुटपीट समेत गरेको आरोप उनै युवतीले लगाएकी थिइन्।अहिले पीडित भनिएकी ती युवतीले सामाजिक सञ्जाल तथा विभिन्न युट्युव मिडियामा आफू अन्यायमा परेको पीडा व्यक्त गर्दै राज्यशक्तिको प्रयोग गरेर बस्नेतले आफूलाई थप प्रताडित गराएको बताउँदै आएकी छिन्। 

यस्तै, ओलीको निकटस्थ रहेकी विश्वासपात्र अञ्जान शाक्य हुन्। संखुवासभाकी शाक्य यस अघि इजरायलको राजदूत भएकी थिइन्। ओलीको आशीर्वादले उनलाई राष्ट्रियसभाको सदस्यमा मनोनीत गरिएको हो। ओलीकै रोजाइमा परेकी उनले अनेकौं नेतालाई पछि पार्दै राष्ट्रियसभाको सदस्य हुन सफल भएकी हुन्। एमालेमा पटक पटक अवसर पाउनेको सूचीमा शाक्य अग्रस्थानमा पर्छिन्। उनी ओलिको किचेन क्याबिनेट भित्रकै एक पात्र भएको बताइन्छ।

ओलीको अर्का विश्वासपात्र एमाले निकट पत्रकार गणेश बस्नेत पनि हुन्। एक अनलाइन सञ्चालक रहेका उनी एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारीका अध्यक्ष समेत हुन्। बस्नेत ओलीको प्रिय पात्र भएरै दुई कार्यकाल प्रेस चौतारीको नेतृत्व गर्न सफल भएका छन्। 

यस विषयमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार उनै रिमालसँग ‘प्रधानमन्त्रीको सचिवालयमा एकै व्यक्तिहरु मात्रै सदाबहार किन?’ भनेर प्रश्न गर्दा उनले कुनै प्रतिक्रिया दिएनन्।


  
 

आइतबार, २५ कार्तिक २०८१, १६ : ५९

प्रतिक्रिया