गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु पश्चिम नेपालकै गौरव

बुधबार, २८ कार्तिक २०८१, १५ : ११

काठमाडौं - भारतीय स्वार्थका कारण लामो समयसम्म सञ्चालनमा आउन नसकेको  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको छ । यसले पश्चिम नेपालकै लागि विकास र समृद्धीको ढोका खोल्ने अपेक्षा गरिएको छ । यो लुम्बिनी प्रदेशको लागि मात्र नभएर सिंगो मुलुकका लागि पनि सकारात्मक सन्देश हो किनभने अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल नहुँदा हवाई सेवामा नकारात्मक असर परिरहेको थियो । विदेशबाट आएका जहाज कुनै कारणले काठमाडौंमा अवतरण गर्न नसक्दा आपतकालीन अवतरणका लागि भारतका विमानस्थलमा पठाउनुपर्ने बाध्यता समेत यसले हटाउने छ । कतारको राजधानी दोहाबाट विश्वका एक सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने विश्वमै उत्कृष्ट मानिएको कतार एयरवेजले हिजोदेखि उडान शुरु गरेपछि अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ ।

उक्त विमानस्थल सञ्चालनमा आएपछि विश्वमा ठूलो संख्यामा रहेका बौद्ध धर्मावलम्बीहरु सोझै लुम्बिनी आएर भ्रमण गरेर फर्कने स्थितिले सम्बन्धित समुदायमा खुशी छाएको छ । जसले लुम्बिनीको पर्यटन विकासलाई नयाँ उचाइमा उठाउने छ । यसले लुम्बिनी र आसपासका धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ । यस क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आवागमन बढ्दा होटल, रेस्टुराँ र अन्य स्थानीय व्यवसायबाट हुने आयआर्जन बढ्नेछ । त्रिभुवन विमानस्थलको भीड कम गर्नु यसको अर्को फाइदा हुनेछ । संघीय राजधानीभन्दा बाहिर वैकल्पिक विमानस्थल छैन भन्ने जुन गलत सन्देश विश्व समुदायमा प्रवाह भएको थियो, यो समस्या अब रहने छैन । त्यसो त लुम्बिनीभन्दा पश्चिमका नेपाली र सिमा क्षेत्रका भारतीय नागरिकलाई समेत अन्तर्राष्ट्रिय आवागमनमा सहजता थप्नेछ ।

सरकारले अझै उडान संख्या बढाउनेतर्फ ध्यान दिनु पर्दछ । अब अन्तर्राष्ट्रिय आवागमनका सम्पूर्ण काम भैरहवाबाटै हुनुपर्छ । जहाज चढ्न भैरहवाबाट पाइने तर अन्य कागजात बनाउन काठमाडौं जानुपर्ने बाध्यता कायम रह्यो भने यो विमानस्थल सञ्चालनको स्थायित्वमा समस्या आउने छ । 
कतार एयरवेजजस्ता विश्व प्रसिद्ध कम्पनीले उडान शुरु गरेकोले यो विमानस्थलको भविष्य राम्रै देखिन्छ ।  अहिले पनि भारतीय कम्पनी भैरहवा र पोखरामा उडान गर्ने मनस्थितिमा छैनन् । यो एउटा चुनौती त हो तर अब अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुले सेवा शुरु गरिसकेपछि यो नै प्रमुख समस्या भने हुनेछैन । भोलि कुनै अवस्थामा सेवा बन्द भयो भने हाम्रो आन्तरिक कारणले नै हुनेछ । त्यसैले सुरक्षा, आवश्यक सेवालगायत सबै कामलाई चुस्तदुरुस्त राखेर यो विमानस्थल सञ्चालनलाई स्थायित्व दिन सरोकारवालाहरु गम्भीर भएर लाग्न आवश्यक छ ।

 

बुधबार, २८ कार्तिक २०८१, १५ : ११

प्रतिक्रिया