काठमाडौं- पूर्वउपराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेकै बेला अर्का पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि पुरानै पार्टी माओवादी केन्द्रमा फर्किने तरखरमा लागेका छन्।
नेकपा(माओवादी केन्द्र)बाट मुलुकको उपराष्ट्रपति पदमा निर्वाचित भएर करिब दुई कार्यकाल बिताएका पुन पुरानै पार्टीमा फर्किएर राजनीतिक सक्रियता बढाउन लागेको माओवादी स्रोतले जनाएको छ। उनलाई माओवादीको पदाधिकारी तहकै जिम्मेवारी दिएर सक्रिय राजनीतिमा फर्काउन लागिएको माओवादी स्रोतको दाबी छ।
उता, पूर्वराष्ट्रपति भण्डारी पनि आफ्नो पूर्ववत् पार्टी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा निकै चुलिएको थियो। उनले पार्टी सदस्यता नवीकरण समेत गरेको बताइएको थियो। यद्यपि त्यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।
नेपालमा हालसम्मका तीन जना राष्ट्रपतिमध्ये कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल पदमै बहाल रहेका छन् भने त्यसअघिका दुई मध्ये भण्डारी पूर्वपार्टी एमालेमै फर्किने चर्चा छ । अर्का कांग्रेसबाट निर्वाचित प्रथम राष्ट्रपति रामवरण यादव व्यक्तिगत जीवनमै रमाएका छन्।
तीन जना उपराष्ट्रपतिहरुमा रामसहायप्रसाद यादव पदमा बहाल छन् भने अन्य दुईमध्ये पुन पुरानै पार्टीको सक्रिय राजनीतिमा फर्किने गृहकार्य थालेका छन् । पूर्वराष्ट्रपति भण्डारीको भने केही समय अघि एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा अहिले सेलाएको छ । यद्यपि सक्रिय राजनीतिमा फर्किने मनशायका अभिव्यक्ति भने भण्डारीले सार्वजनिकरुपमा दिँदै आएकी छिन्।
भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको बाधक पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएकाले तत्काल उनी एमालेमा फर्कन नसकेको पनि बताइन्छ। भण्डारीको प्रवेशले पार्टीमा अर्को नयाँ गुट खडा हुने र आफ्नो निर्विकल्प नेतृत्वमा चुनौती थपिने भयले उनको सक्रियताप्रति ओली सकारात्मक नरहेको एमाले स्रोत बताउँछ।
प्रतिक्रिया