२५ सय नेपाली महिला साउदी पुर्‍याइए

६ बर्ष अगाडि

काठमाडौँ-  मानव तस्करहरूले अवैधानिक रूपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रूपमा साउदी अरब पुर्‍याएका छन् । अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्‍याइएको हो । हाउसमेड पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेका छन्, कान्तिपुरमा खबर छ  ।

साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो । कुवेतको आवासीय भिसा लगाई अस्थायी रूपमा साउदी पुर्‍याइएका महिला कामदारको संख्या यसमा समावेश छैन । कुवेत वा साउदीबाट फर्केका महिलालाई पुन: श्रमस्वीकृति गरी पठाइएको छ ।
कुवेतबाट साउदी ल्याई समस्यामा परेका नेपाली महिला भागेर आश्रयका लागि दिनहुँजसो रियादस्थित नेपाली दूतावास र जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालय पुग्ने गरेका छन् । यी निकायले महिनाको सरदर २० जना हाउसमेडलाई नेपाल फर्काइरहेका छन् । ‘जति महिला उद्धारका लागि दूतावास आइपुग्छन्, तीमध्ये ९० प्रतिशत कुवेतबाट ल्याइएका हुन्छन्,’ नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले  भने, ‘यसलाई रोक्न साउदी सरकारलाई हामीले अनुरोध गर्दै आएका छौं ।’
दूतावासले ‘कुवेतबाट स्पोन्सरसँगै हाउसमेड आए फर्कने बेला स्पोन्सरसँग हाउसमेड भए/नभएको’ हेरिदिन साउदी सरकारलाई अनुरोध गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया