काठमाडौं। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन‘पासाङ’ माओवादीको सक्रिय राजनीतिमा फर्किन लागेका छन् ।
माओवादी जनमुक्ति सेनाका पूर्व कमाण्डर समेत रहेका पासाङ उपराष्ट्रपति पदमा करिब दुई कार्यकाल बिताएर पूर्ववत् पार्टीको सक्रिय राजनीतिमा फर्किने मनशायले पार्टी बैठकमा समेत सहभागी हुन थालेका छन् ।
सोमबार पार्टीको पदाधिकारी बैठकमा समेत सहभागी जनाएका पुन पार्टीमा जिम्मेवार भूमिकासहित सक्रियताको लागि अन्तिम गृहकार्य गरिरहेका छन् ।
पासाङको पुनरागमनले माओवादीमा खैलाबैला मच्चिएको छ । माओवादी स्रोतका अनुसार पासाङलाई उपाध्यक्ष दिनेगरी आन्तरिक तयारी थालिएको छ ।
उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष दिने तयारी गरेपछि माओवादीका हालका पदाधिकारीहरुमा संशय छाएको छ । कतिपय पदाधिकारीहरु आफ्नो पद र वरियता गुम्ने आशंकाले भयभीत बनेका छन् ।
प्रचण्डले पासाङलाई अन्य पदाधिकारी भन्दा वरियतामा माथि राखेर उपाध्यक्षको कार्ड फ्याँकेपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ त्रसित भएको माओवादी स्रोत बताउँछ ।
तर, माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा भने पूर्वउपराष्ट्रपति पुनले आफ्नो राजनीतिक सक्रियताको प्रस्ताव पार्टीमा राखे पनि पदीय विषयमा भने निर्णय हुन बाँकी रहेको बताउँछन् ।
पूर्वउपराष्ट्रपतिको हैसियतमा राज्यबाट कुनै सेवा सुविधा नलिएको र अन्य दायित्व पनि नभएकाले फेरि पार्टीमै राजनीतिक सक्रियता बढाउने ईच्छा व्यक्त गरेको शर्माले बताए ।
‘अन्तर्राष्ट्रिय अभ्यास र उहाँ(पूर्वउपराष्ट्रपति)को चाहना बमोजिम पार्टीमा पुनः सक्रियताको लागि के गर्ने भन्ने विषयमा सोमबार छलफल भएको हो।’, शर्माले भने, ‘सबै साथीहरुले पनि उहाँलाई ल्याउनुपर्छ भन्नुभएको छ । तर जिम्मेवारीको विषय भने अहिले टुंगो लागिसकेको छैन ।’
सचिव शर्माका अनुसार पूर्वउपराष्ट्रपति पुन माओवादीको सक्रिय राजनीतिमा फर्कने निश्चित भए पनि पदीय जिम्मेवारीको भने अझैं टुंगो लागेको छैन ।
अहिले माओवादीमा वरियताक्रमका आधारमा अध्यक्ष प्रचण्ड पछि दोस्रोमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र त्यसपछि अर्का उपाध्यक्ष कृष्णबहादुर महरा रहेका छन् । उपाध्यक्ष महरा पछिल्लो समय पार्टी राजनीतिमा खासै सक्रिय छैनन् । सुन तस्करी लगायतका विभिन्न प्रकरणमा जोडिएपछि महरा पार्टीमा सक्रियता जनाएका छैनन् ।
आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकारकै पालामा आफूलाई अपमानजनक ढंगले गिरफ्तारी गरिएपछि महरा प्रचण्डसँग रुष्ट रहेको बताइन्छ । प्रचण्डसँग असन्तुष्ट रहेका महरा त्यसयता पार्टीको पदाधिकारी, स्थायी समिति बैठक र प्रदेश परामर्श बैठकमा समेत सहभागी भएनन् ।
पूर्वउपराष्ट्रपति पुनको माओवादीमा पुनरागमनले माओवादीको अर्थराजनीतिमा प्रभाव पार्ने जानकारहरु बताउँछन् । माओवादीभित्र इमान्दार नेताकै छवि बनाएका पुन आफ्ना छोरा र तत्कालीन सचिवालयकै कारणले भने बारम्बार विवादमा आउने गर्छन् । पूर्वउपराष्ट्रपति पुनका दुई पुत्र जितेन्द्र र दिपेश दुबै सुन तस्करी प्रकरणका आरोपी हुन् ।
कान्छा छोरा दिपेशलाई सुन तस्करीसहित बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको आरोप समेत लागेको थियो । सोही प्रकरणमा अनुसन्धान गर्न प्रहरीले गिरफ्तार गरेर हिरासत पुगेका उनी रुपन्देही जिल्ला अदालतको आदेश पछि धरौटीमा छुटेका हुन् । अर्का छोरा जितेन्द्र पनि सुन कारोबारका लागि चिनियाँ व्यापारीसँग सम्झौता गरी रकम नदिएर फरार भएको भिडियो सार्वजनिक भएको थियो ।
पुन उपराष्ट्रपति हुँदा उनको सचिवालयमा रहेर सल्लाहकार भएका समेत सुन तस्करी प्रकरणमा मुछिएका थिए । १४ किलो सुन तस्करी प्रकरणमा मुछिएका डिल्लीबजार कालिकाथानस्थित प्लाटिनम कलेजका सञ्चालक समेत रहेका जीवन गुरुङ पनि उपराष्ट्रपति हुँदा पुनको सचिवालयमा थिए ।
दुबईबाट २०८० मंसिर २१ गते ल्याइएको उक्त सुन विमानस्थलबाट पक्राउ गरिएको थियो। त्यसमा गुरुङको संलग्नता रहेको अनुसन्धानबाट देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पर्वत घर भएका गुरुङ पुन उपराष्ट्रपति हुँदा उनको सल्लाहकार रहेका थिए।
यस्तै विमानस्थलबाट पक्राउ गरिएको ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति पुत्र दिपेशको सम्बन्ध रहेको आरोप लागेको थियो । त्यतिबेला प्रहरीको सिआइबीले यस बारे अनुसन्धान गर्न दिपेशसँग बयान पनि लिएको थियो ।
पक्राउ परेका दावा छिरिङकी पत्नी भनिएकी रोल्पाकी अमला रोकासँग उपराष्ट्रपति पुनको परिवारसँग निकट सम्बन्ध दर्शाउने विभिन्न तस्बिर समेत सार्वजनिक भएका थिए ।
सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङकी पत्नी अमला भने अहिले फरार छिन् । उनैसँग पूर्वउपराष्ट्रपति पुनको पारीवारिक सम्बन्ध रहेको देखिएपछि यस प्रकरणमा पुनको परिवारको थप शंकास्पद भूमिका रहेको चर्चा चुलिएको थियो ।
यद्यपि अहिले यो प्रकरणमा पुनका पारीवारिक सदस्य रहेका पुत्र दिपेशलाई बाहिरै राखेर अनुसन्धानका लागि सिआइबीले बयान लिएकोे थियो। अर्का पुत्र जितेन्द्र भने पारीवारिक सम्पर्कमा नरहेको बताइन्छ ।
पारीवारिक र आफ्नो सचिवाल सदस्यका कारणले विवादमा तानिएका पूर्वउपराष्ट्रपति पुन पदमा रहँदा भने खासै विवादमा आएनन् । तर दुई कार्यकाल सकाएर उपराष्ट्रपति पदबाट बाहिरिएपछि निर्माण गरेको भव्य बंगला सार्वजनिक भएपछि भने उनको जनस्तरबाटै आलोचना भएको थियो ।
प्रतिक्रिया