काठमाडौँ - आज नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको छ । विद्युत् निर्यातको उद्घाटन भर्चुअल रुपमा तीन देशका ऊर्जामन्त्रीले गरेका हुन् ।
उद्घाटनसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ । यससँगै नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको औपचारिक सुरुवात भएको छ । भारतीय सहयोगमा निर्माण भएको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात हुने छ ।
यी भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् । नेपाल, भारत र बंगलादेशबीच भएको त्रिदेशीय सम्झौता अनुुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ । तर आज निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुने छैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आज सुरुवात मात्रै भएको र आगामी जुनदेखि नियमित रुपमा विद्युत् निर्यात गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युतको मूल्य भारतरको मुजफ्फरपुर बिन्दुमा पाउने छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर–भेरमारा ४०० केभी प्रसारण लाइनबाट विद्युत् बंगलादेश पुग्नेछ ।
प्रतिक्रिया