ओलीको चाइना कार्ड र प्रचण्डको लम्पसारवाद

शुक्रबार, ३० कार्तिक २०८१, १७ : ०२

काठमाडौं- सुगौली सन्धिदेखि सुरु भएको राष्टिय आत्मसमर्पणवाद आज पर्यन्त पनि जारी नै रहनु स्वाभिमानी नेपालीको लागि ज्यादै दुखद पक्ष हो । नेपालमा भएका वाम तथा दक्षिण जुनसुकै प्रकारका आन्दोलनहरुमा पनि दक्षिणी छिमेकीको चासो र हस्तक्षेप हुने गरेको छ । यद्यपी नेपाल एउटा सार्वभौम र स्वतन्त्र मुलुक हो। तर यहाँका शासकहरुको दास मानसिकता र लम्पसारवादी सोचको कारण नेपाल भारतीय संस्थापनको स्वार्थभन्दा बाहिर जान सकेको छैन । 

इतिहासमा नेपाली जनताले वीरतापूर्ण संघर्षहरु गर्दै आएका छन् । जनताको तहबाट देशभक्तिको अनुपम नमुना प्रदर्शन भएकै हो । तर नेतृत्व भने पालैपालो विदेशी शक्तिको गुलाम बनेको पनि जगजाहेर नै छ । खासगरी भारतीय पक्षले पालैपालो आफ्नो स्वार्थ अनुसार यहाँका नेताहरुलाई प्रयोग गर्दै आएको छ। सत्ता बाहिर हुँदा राष्टवादको चर्को भाषण गर्नेहरु नै सत्तामा पुगेपछि भारतीय निगाहबिना बाँच्न सकिदैन भन्ने दास मनोवृत्ति देखाउन थाल्छन्। 

यो आत्मसमर्पणवादको सिलसिला निकै लामो छ । यहाँ नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले लिएका केही बिरोधाभाषपूर्ण नीतिहरुको चर्चा गर्ने प्रयत्न गरिएको छ। प्रचण्ड अरु नेपाली नेताहरुभन्दा फरक पृष्ठभूमिबाट आएका हुन । उनको नेतृत्वमा तत्कालीन माओवादीले सशस्त्र विद्रोह गरेको थियो । जसका कारण नेपालको राजनीतिमा उल्लेखनीय परिवर्तन भयो । राजनीतिक इतिहासमै नयाँ अध्याय प्रारम्भ  भयो । भारतविरुद्ध सुरुङ्ग युद्ध गर्ने उद्घोष गरेका कारण पनि प्रचण्ड सबभन्दा धेरै भारतीय विस्तारवादका विरोधी हुन भन्ने लाग्नु स्वभाविक हो । तर घटनाक्रमहरुले त्यस्तो देखाउँदैनन्। 

प्रधानमन्त्री ओलीको चीन भ्रमणका सन्दर्भमा उनले भारतीय सञ्चारमाध्यमहरुमा दिएको अभिव्यक्तिले उनको बिरोध केवल जनताको आँखामा छारो हाल्न मात्र थियो भन्ने पुष्टि हुन्छ । उनले प्रधानमन्त्री ओलीले ‘चाइना कार्ड’ प्रयोग गर्न खोजेको भनेर ‘द हिन्दू’ मा दिएको अन्तर्वार्ता अहिले विवादास्पद बनेको छ । उनले उक्त अन्तर्वार्तामा भनेका छन, ‘मेरो नेतृत्वको सरकार गिरेपछि भारतसँगको सम्बन्ध बिग्रिएको छ । नेपाल–भारत सम्बन्धमा जुन तनाव बढेको छ, यसले कसैको पनि हीत गर्दैन । ’

प्रचण्डले उक्त अन्तर्वार्ताका क्रममा, नेपालको भूगोल, इतिहास र संस्कृतिका आधारमा चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा ओली सरकार चीनतिर ढल्किएको आरोप लगाएर भारतको प्रिय बन्न खोजेका छन् । एउटा सार्वभौम मुलुक नेपालको तीन पटक प्रधानमन्त्री भएको व्यक्तिले ‘पहिलो भ्रमण भारतबाट नै गर्नु उपयुक्त हुन्छ’ भन्नु निकै लज्जास्पद विषय हो । स्वतन्त्र मुलुकको प्रधानमन्त्रीले जुनुसुकै देशबाट पनि भ्रमण सुरु गर्न सक्छ। 

हाम्रो संविधान वा कुनै राजनीतिक ग्रन्थमा यस्तो कुरा लेखिएको छैन, जहाँ भारतबाट मात्र नेपालको प्रधानमन्त्रीले भ्रमण गर्नु पर्दछ । भारतले निम्तो नगर्दैमा वा भारतबाट भ्रमण नगर्दैमा भारतसितको सम्बन्त्र बिग्रन्छ भन्ने मान्यता नै सही होइन ।  यद्यपी प्रधानमन्त्री ओली पनि कुनै स्वाभिमानी अडानका कारण चीनबाट भ्रमण सुरु गर्दै छैनन् । भारतले निम्तो नदिएपछि बाध्य भएर ‘चाइना कार्ड’ प्रयोग गर्ने निष्कर्शमा पुगेका हुन । तर पनि तीन तीन पटक प्रधानमन्त्री भैसकेको प्रचण्ड जस्तो नेताले यस्तो किसिमको सोच राख्नु देशभक्ति होइन लम्पसारवादको नमुना हो। 

यस पटक मात्र होइन प्रचण्ड आफै प्रधानमन्त्री भएको बेला एकपटक चीन गएका थिए,  एउटा खेलकूद कार्यक्रममा । त्यतिबेला उनका केही खास मान्छेहरुले प्रधानमन्त्रीले चीनबाट विदेश भ्रमण सुरु गर्नु ठूलो महत्वको विषय भएको प्रचार गरे । भारतलाई चुनौति दिएको रुपमा त्यसको व्याख्या भयो । तर लैचचौरबाट एक कल फोन जाने बित्तिकै उनको बोली फेरियो । एयरपोर्टमा ओर्लनेबित्तिकै उनले स्पष्टिकरण दिए । खेल हेर्न मात्र चीन गएको र आफ्नो औपचारिक विदेश भ्रमण त भारतबाटै सुरु हुने बताएर उनले नुनको सोझो गरिहाले । 

विद्रोहपछि शान्ति प्रक्रियामा आउँदा प्रचण्डमा जुन क्रान्तिकारी तेज थियो त्यो अहिले समाप्त प्राय  भएको माओवादीका एक केन्द्रीय सदस्यले बताएका छन् । शान्ति प्रक्रियापछि सुरु भएको प्रचण्डको विचलन र अस्थिरताले उनलाई सत्ताभन्दा बाहिर रहन नसक्ने बनाएको माओवादीवृत्तमै चर्चा चल्न थालेको छ 

शुक्रबार, ३० कार्तिक २०८१, १७ : ०२

प्रतिक्रिया