काठमाडौं- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ आफ्नो पुरानो पार्टी माओवादी केन्द्रमै फर्किने निश्चित नै भइसकेको छ । दुई कार्यकाल राष्ट्रकै उपप्रमुख भएर पासाङको फेरि सक्रिय राजनीतिमा हुन लागेको पुनरागमनले पार्टीको आन्तरिक राजनीतिमा भने तरंग आएको छ ।
माओवादी स्रोतका अनुसार पासाङले संवैधानिक निकायमा रहेर राष्ट्रकै उपप्रमुख भइसकेकाले सम्मानजनक पदमा दाबी गरेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तारन्तारको भेटमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेको उनी निकट स्रोत बताउँछ ।
यसअघि दुई पूर्व सभामुख कृष्णबहादु महरा र अग्नि सापकोटालाई पार्टीको उपाध्यक्ष बनाइएकोले संवैधानिक निकायमा ती भन्दा माथि रहेर उपराष्ट्रपति भइसकेकोले वरिष्ठ उपाध्यक्षमा स्वतः दाबी रहेकोे पासाङ निकट स्रोतले बतायो।
‘दुई पूर्वसभामुख उपाध्यक्ष रहेकाले संवैधानिक पदको वरियतामा दुबै भन्दा अघि रहेका उहाँ(पासाङ)ले वरिष्ठ उपाध्यक्ष माग्नु स्वाभाविकै हो’, पासाङ निकट स्रोतले भन्यो ।
स्रोतका अनुसार माओवादी पार्टीमा युद्धकालीन नेताहरुलाई उपेक्षा गरी शान्ति प्रक्रिया पछि आएका एकता केन्द्र समूहका नेताहरुलाई प्राथमिकता दिइएकाले विभाजनको श्रृंखला सुरु भएको निष्कर्ष पनि पासाङको रहेको छ । त्यसैले आफूलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठभन्दा वरियतामा माथि राख्नुपर्ने अडानमा उनी छन् । पूर्वमाओवादीलाई एकतामा ल्याउन पनि आफू वरिष्ठ उपाध्यक्ष हुनुपर्ने पासाङको जिकिर छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई दिइएको दोस्रो वरियताभन्दा आफू माथि रहनुपर्ने पासाङले दाबी गरेपछि माओवादीमा किचलो सुरु भएको छ । यता, आफूभन्दा माथि रहने पासाङको अडानले वरिष्ठ उपाध्यक्ष श्रेष्ठ भने चिढिएका छन् । उनले यस्तो प्रस्ताव सुनेर सोमबार पासाङ सहभागी भएकै बैठकमा असन्तुष्टि व्यक्त गरेको माओवादी स्रोत बताउँछ ।
पासाङको माओवादीमा पुनरागमनले पूर्व एकताकेन्द्र समूहका श्रेष्ठ पक्षधर नेताहरु निकै सशंकित देखिएका छन् । पासाङको उक्त प्रस्तावपछि श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेटेरै पासाङलाई आफूभन्दा माथि राखेर वरिष्ठ उपाध्यक्ष दिए अस्वीकार गर्ने चेतावनी दिएको स्रोतले जनाएको छ । उनीहरुले आफ्नो समूहलाई पार्टीमा सम्मानजनक स्थान नदिएर पासाङलाई अघि बढाए सामूहिक प्रतिवाद गर्ने भन्दै आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ ।
यस विषयमा माओवादी उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटासँग जिज्ञासा राख्दा उनले आफूलाई यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । पासाङ सक्रिय राजनीतिमा फर्किने निश्चित भएको स्वीकार गर्दै उनले अन्य विषयमा अनविज्ञता प्रकट गरे ।
प्रतिक्रिया