काठमाडौं – माओवादी अध्यक्ष प्रचण्डलाई नेपाली राजनीतिमा बोलीको ठेगान नभएको नेताको रुपमा चिन्ने गरिन्छ भन्दा माओवादी कार्यकर्ताहरुलाई अप्रिय लाग्न सक्छ । प्रचण्ड आफै भने यो स्विकार्न तयार छैनन् । बरु उनी आफूलाई गतिशील नेताको रुपमा चिनाउन चाहन्छन् । उनले चालेका कदम र बेला बेलामा दिने अभिव्यक्तिहरुले भने उनी अत्यन्त अस्थिर र बेठेगान नै छन् भन्ने देखाउँछ । उनका बारेमा माओवादी केन्द्रकै एक पदाधिकारीले ‘प्रचण्डजी ढुंग्रोको पानी हो, ढुंग्रोमा पानी नअडिए जस्तै उहाँमा पनि केही अडिदैन । सबै पोखिहाल्नुहुन्छ ।’ भन्ने गरेको पार्टी पंक्तिमा चर्चा हुने गर्दछ ।
उनको अस्थिर र बोली फेरिरहने उदाहरण जान्न धेरै लामो समयको घटनाक्रमहरु संझनै पर्दैन । एमाले र कांग्रेसलाई पालैपालो झुक्याएर सरकारको नेतृत्व गर्न सफल भैरहेका प्रचण्डले एकपटक भनेका थिए, ‘ हामीसँग जादु नम्बर (३२) छ । जसको कारण हामीबिना सरकार नै बन्न सक्तैन । ’ त्यसको केही दिनपछि रमेश लेखकले प्रचण्डलाई जवाफ दिदै संसदमा भनेका थिए, ‘ याद गर्नुस प्रचण्डजी, धोका पाएका सबै एक ठाउँमा आए भने तपाईको अवस्था के होला ? ’
असार १७ गते प्रचण्डलाई पनि छक्क्याएर धोका पाएकाहरु एक ठाउँमा आएपछि उनी अहिले सडकमा छन् । सडकमा आएपछि प्रचण्डले धेरै ठाउँमा २०८४ अघि सरकारमा नजाने र त्यसको लागि कुनै प्र्रयास पनि नगर्ने बताउँदै आएका छन् । प्रचण्डको यो भनाइले पार्टी पंक्तिमा पनि उत्साह थपिएको एक केन्द्रीय सदस्यले बताएका छन् । यस्तै भाव उनले कान्तिपुर मिडिया ग्रुपद्वारा कात्तिक २८ गते आयोजित कान्तिपुर कनक्लेभमा पत्रकार बिजय पौडेलसँगको कुराकानीमा बताएका थिए । उक्त कार्यक्रममा प्रचण्ड भन्छन, ‘हामी यो सरकार ढालेर जनतालाई हैरान पार्ने पक्षमा छैनौं । ’ यो उनले भन्दै आएको राजनीतिक प्रतिवद्धताको निरन्तरता पनि हो ।
तर मंसिर १ गते नै उनको बोली फेरियो । माओवादी काभ्रे–काठमाडौ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने बताए । ‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले थपे, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’
यसबाट उनको बोलीमा स्थिरता नभएको मात्र होइन सत्तामा जान हतार भैसकेको पनि बुझ्न सकिन्छ । अहिले प्रचण्डमाथि भारतलाई रिझाएर सत्तामा जान खोजेको आरोप पनि लाग्न थालेको छ । भर्खरै उनले एक भारतीय सञ्चार माध्यम ‘द हिन्दु’ लाई दिएको अन्तर्वार्तामा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले नेपालको असंलग्न विदेश नीतिलाई खिल्ली उडाउँदै प्रधानमन्त्रीले ‘चाइना कार्ड ’ प्रयोग गर्न खोजेको अभिव्यक्ति दिएका थिए । जसको चौतर्फी आलोचना भएको छ । यो भारतलाई खुशी पार्ने चाल मात्र भएको भनेर राजनीतिक तथा कुटनीतिक क्षेत्रबाट निकै आलोचना भएको छ । एमालेले त प्रचण्डले जनतासित माफी माग्नुपर्ने भन्दै उनको भनाइलाई भत्र्सना समेत गरेको छ ।
प्रतिक्रिया