एउटा निस्कलंक देशभक्तको महाप्रस्थान

सोमबार, ०३ मंसिर २०८१, १३ : ४५

काठमाडौ . पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो। २०४८ सालमा काठमाडौंबाट निर्वाचित भएपछि उनी प्रतिनिधिसभामा सभामुख बनेका थिए । सभामुख हुँदा उनले खेलेको भूमिका अहिले पनि स्मरण गरिन्छ । तत्कालीन संसदमा उनको भूमिकालाई लिएर उनको आफ्नै दल नेपाली कांग्रेस असन्तुष्ट थियो । संसद प्रतिपक्षको र सरकार सत्ता पक्षको हुनुपर्छ भन्ने उनको मान्यता रहेको थियो ।

कानुन, मानवअधिकार र संसदीय सिद्धान्तका जानकार ढुंगाना नेपाली समाजले स्मरण गरिरहने एक निस्कलंक देशभक्त हुन । उनी कहिले पनि अनावश्यक विवादमा आएनन् । पञ्चायतकालभर उनी प्रजातन्त्रको लागि लड्ने प्रख्यात वकिलको रुपमा चिनिएका थिए । उनी लामो समय वकालत पेशामा रहे । 

editorial

 

सक्रिय राजनीतिमा नलागे पनि ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गणतन्त्र स्थापनाका लागि भएको २०६२/०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि एक प्रमुख पात्र थिए । 

नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि निरन्तर लड्दै आएका ढुंगाना  सक्रिय राजनीतिमा नरहे पनि उनको विचार र उपस्थिति भने भइरहेको थियो । राज्य सत्ताको विपक्षमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए।

१० वर्षसम्म देशमा चलेको सशष्त्र युद्धलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुंगानाले धेरैपटक सहजकर्ताको भूमिका समेत खेलेका थिए । अर्का मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरसँग मिलेर उनले मानवअधिकार र शान्ति स्थापनाको सक्रिय भूमिका खेलेर देशलाई ठूलो गुण लगाएका छन् ।  उनले सभामुख भएको समय बाहेक राज्यसत्ताको सुविधा समेत लिएनन् । यस अर्थमा ढुंगाना सरल र निस्वार्थ व्यक्तित्व थिए । 

उनको सम्मानमा सरकारले सार्वजनिक विदा दिएको छ । उनको अन्त्यष्टि पनि राजकीय सम्मानका साथ गरिएको छ । एउटा सच्चा र इमान्दार देशभक्तप्रति आजको अर्थ परिवार हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ । 
 

सोमबार, ०३ मंसिर २०८१, १३ : ४५

प्रतिक्रिया