काठमाडौँमा अन्तर्राष्ट्रिय इस्लामिक कला प्रदर्शनी

मंगलबार, ०४ मंसिर २०८१, २१ : १०

काठमाडौं- इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा इस्लामिक कला प्रदर्शनी तथा सम्मेलन सुरु भएको छ । सोमबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकाे कला प्रदर्शनी बुधबारसम्म चल्नेछ ।

यही १८ नोभेम्बरमा पर्ने इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सुरु भएको प्रदर्शनी तथा सम्मेलनमा आज उपराष्ट्रपति राम सहायप्रसाद यादवले अवलोकन भ्रमण गरेका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका अनुसार वास्तुकलासँग जोडिएको कलाकृति इस्लामिक कला प्रदर्शनीमा राखिएको जानकारी दिए ।

ईसं २०१९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन(युनेस्को) को सम्मेलनको ४०औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष नोभेम्बर १८ मा यो दिवस मनाउने गरिन्छ । यसले इस्लामको अतित र समकालीन कलात्मक अभिव्यक्ति र सभ्यतालाई कलाका माध्यामबाट संस्कृतिमा जागरुकता बढाउने उद्देश्य रहेको आयोजक द मदर फाउण्डेसनले जनाएको छ ।

यहाँ जारी इस्लामिक कला प्रदर्शनीमा दृष्यकला, वास्तुकला, सुलेखन कला, चित्रकला, माटो कला तथा पाककला समावेश गरिएको छ । कार्यक्रममा जानकारी गराइएअनुसार यो कला भौतिक गुणमामात्रै सीमित नरही वस्तु र प्राणीको आध्यात्मिक प्रतिनिधित्वमा कन्द्रित रहेको छ । इस्लामिक कला सजावटी मात्रै नभई गहिरो शैक्षिक एवं जटिल ढाँचा समावेश भएका हुन्छन्, जुन गणितीय र वैैज्ञानिक ज्ञानलाई प्रतिबिम्बित गर्ने बताइएको छ । इस्लामिक कलाका प्रमुख घटकमा दृष्यकला (वास्तुकला, सेरामिस, रेखाचित्र, फिल्म निर्माण, चित्रकला, फोटोग्राफी, मूर्तिकलासहित), साहित्य कला (नृत्य, सङ्गीत र थिएटरका कलासहित) र पाक कलामा (खाद्य वस्तु पकाउने कलासहित) रहेका जनाइएको छ ।

मंगलबार, ०४ मंसिर २०८१, २१ : १०

प्रतिक्रिया