माओवादी पदाधिकारी बैठक

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति नारायणकाजीको आपत्ति, बोलीमा लगाम लगाउन चेतावनी

बुधबार, ०५ मंसिर २०८१, १० : २०

काठमाडौं- आफ्नै अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने गरेका नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो अभिव्यक्तिले फेरि पार्टीको पदाधिकारी बैठकमै आलोचित हुनुपर्ने अवस्थामा पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणबारे प्रचण्डले भारतीय मिडियामा ‘चाइना कार्ड’ भन्दै दिइएको अभिव्यक्ति प्रति पार्टीकै पदाधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधिनतामा आँच पुग्ने गरी दिइएको अभिव्यक्ति प्रति आपत्ति प्रकट गर्दै प्रचण्डको आलोचना गरेका थिए ।

प्रचण्डलाई उक्त विवादित अभिव्यक्ति प्रति सार्वजनिक आत्मआलोचना गर्न समेत श्रेष्ठले सुझाएको एक पदाधिकारीले जानकारी दिए ।

ती पदाधिकारीका अनुसार वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा दिइएको हल्का टिप्पणीले अध्यक्षसँगै सिंगो पार्टी पनि विवादमा तानिएको भन्दै राष्ट्रियतासँग जोडिएका विषयमा हचुवा टिप्पणी नगर्न चेतावनी दिएका थिए ।

साथै उनले सरकारबाट बाहिरिएपछि ८४ सम्म सरकारमा सहभागी नभएर पार्टी बनाउने प्रतिबद्धता विपरीत प्रचण्डले ‘म्याजिक नम्बर’को घुर्की लगाउँदै फेरि सरकारमा जान सकिने आशयका अभिव्यक्ति प्रति पनि ध्यानाकर्षण गराएका थिए ।

श्रेष्ठको आक्रोशपूर्ण आलोचना पछि भारतीय मिडियामा दिइएको टिप्पणीमा आफ्नो कमजोरी भएको स्वीकार गर्दै प्रचण्ड रक्षात्मक भएर बैठकको माहोललाई सहज बनाउने प्रयत्न गरेका थिए ।

प्रचण्डले आफ्नो उक्त अभिव्यक्ति दुराशयपूर्ण तवरले कुनै छिमेकी राष्ट्र लक्षित नरहेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीको प्रवृत्ति औंल्याउन खोज्दा चिप्लिएको र बाहिर अर्कै अर्थ लाग्नेगरी प्रचार गरिएको बताएका थिए । 

उनले आफ्नो आशय कसैप्रति पक्षधरता देखाउने नरहेको भन्दै ओलीको चीन भ्रमणको रणनीतिक उद्देश्य केलाउने प्रयत्न गर्दा बहकिएको बताउँदै बचाउ गरेका थिए । बाह्य मिडियामा मुलकको आन्तरिक राजनीतिका विषयमा अभिव्यक्ति दिनु आफूबाट त्रुटि भएको प्रचण्डको स्वीकारोक्ति थियो ।

प्रचण्डले केही दिन अघि भारतीय मिडिया ‘द हिन्दु’मा यही मंसिर १७ गते प्रधानमन्त्री ओलीको चीनमा हुन लागेको पहिलो विदेश भ्रमणलाई ‘चिनियाँ कार्ड’को संज्ञा दिएका थिए । प्रचण्डको उक्त अभिव्यक्ति अहिले सर्वत्र आलोचित भइरहेको छ ।

बुधबार, ०५ मंसिर २०८१, १० : २०

प्रतिक्रिया