काठमाडौं – दस वर्षसम्म सशस्त्र विद्रोह गरेर समानान्तर सरकार चलाएको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएको १८ वर्ष पुरा भएको छ । यो बीचमा उसले तीन पटक त सरकारको नेतृत्व समेत गरिसकेको छ । सरकारमा त माओवादी १२र १३ वर्ष नै रह्यो । तर पार्टीको आकार भने निरन्तर घट्दो क्रममा रहेको देखिन्छ । कुनै बेला विश्वको ध्यान आकर्षण गर्न सफल पार्टी अहिले आएर कुहिरोको काग भएको छ ।
पटक पटक सत्ताको अनुभव संगालेको दलको आर्थिक नीति, विदेशनीति, सांगठनिक व्यवस्था केही पनि परिपक्व देखिदैन । यसका पछाडि पार्टी अध्यक्ष प्रचण्डको पार्टीमा एकाधिकारवादी नियन्त्रण मुख्य रहेको अन्य नेताहरु बताउँछन् । शान्ति प्रक्रियापछि माओवादीको केन्द्रीय समिति चार हजारको थियो । त्यसपछि नै पार्टी भद्रगोल अवस्थामा पुगेको नेताहरु बताउँछन् । यो प्रचण्डले जानेरै गरेको भनिन्छ । पार्टीका कमिटीहरु ज्यादै ठूलो संख्यामा हुँदा तिनीहरुको नियमित बैठक गर्न सम्भव नै हुँदैन । त्यसो हुँदा अध्यक्षले स्वविकेकले कमिटी चलाउने अवस्था आउँछ । जो नेतृत्वमा आउन चाहन्छन् त्यस्ता नेताहरुको तेजोवध हुन्छ ।
भद्रगोलमा गोल हान्न जति सजिलो हुन्छ, सामान्य अवस्थामा हुँदैन भन्ने प्रचण्डले राम्रोसँग बुझेका छन् । त्यसैकारण माआोवादीका कुनै पनि जनसंगठनहरुको विधिवत भेला अधिवेसनहरु हुने गरेका छैनन् । भए पनि पार्टी अध्यक्षले टिका लगाएर नेतृत्व छानिदिने परम्परा कायम भएको छ । त्यसको पछिल्लो उदाहरण अखिल क्रान्तिकारी बनेको छ । माओवादीको सबैभन्दा सक्रिय र प्रभाव राख्ने जनसंगठनमध्येमा पर्दछ, अखिल क्रान्तिकारी । गत असोजमा आयोजना गरिएको क्रान्तिकारीको सम्मेलन भाँडिएको थियो । उमेर हदको बखेडा झिकेर सम्मेलनमा भाँडभैलो भएको थियो । अध्यक्ष प्रचण्डले चाहेको व्यक्तिले जित्न नसक्ने अवस्था आएपछि सम्मेनल भाँडिएको असन्तुष्ट नेताहरुले उतिबेला बताएका थिए । सम्भवत अब अखिल क्रान्तिकारीको सम्मेलन गरिने छैन ।
त्यस्तै अर्थनीतिको सवालमा माओवादी दिशाबहीन जस्तै रहेको एक केन्द्रीय नेताले आजको अर्थलाई बताएका छन् । पार्टीको आर्थिक नीति स्पष्ट नभएकोले नै समग्र पार्टी पंक्ति कमजोर बनेको छ । परराष्ट नीतिमा त पार्टीको गाईजात्रा नै देखिएको छ । कहिले भारत त कहिले चीनको चाकडी गरेर सत्तामा पुग्ने नीति लिएको देखिन्छ । मुलुकको परराष्ट नीतिमा आन्तरिक राजनीतिक कारणले हल्का टिप्पणी गर्ने अध्यक्ष प्रचण्डको अहिले सर्वत्र आलोचना भएको छ । उनले भारतीय पत्रिका ‘द हिन्द’ लाई दिएको अन्तर्वार्तामा प्रधानामन्त्रीले ‘चाइना कार्ड’ प्रयोग गर्न खोजेको अभिव्यक्ति दिएका थिए ।
माओवादी पार्टीमा अत्यन्त चासोका साथ हेरिएको विशेष महाधिवेशन पनि नहुने संकेत देखिएको छ । स्थानीय निर्वाचनको बहानामा अधिवेशन टार्ने संभावना बढेको एक केन्द्रीय सदस्यले बताएका छन् । विधा अधिवेशनमा उठेका विषयहरुलाई विशेष महाधिवेशनबाट एउटा निष्कर्शमा लैजाने अपेक्षा गरिएको थियो । तर प्रचण्ड यो सब गर्न चाहँदैनन् भन्ने उनका पछिल्ला काम कारबाहीले देखाइरहेका छन् । पार्टीका असन्तुष्ट नेताहरु प्रचण्ड केही चाकड र पारीवारिक घेरामा परेकोले पार्टी ओरालो लाग्दै गएको बताउँछन् ।
माओवादी स्कुलिङ्गमा २०४१/ ४२ तिर एउटा राजनीतिक पदावली चर्चित थियो । त्यो ‘व्यक्तिवादी प्रवृत्ति’ । मोहनविक्रम सिंहसँग मोहन वैद्य र प्रचण्डहरुको मतभेद हुँदा सिंह अल्पमतमा परेका थिए । बहुमतको नेतृत्व मोहन वैद्यले गरेका थिए । अन्ततः पार्टी विभाजन भएर मोटो मशाल र पात्लो मसाल बन्यो । पात्लो मसालको नेतृत्व मोहनविक्रमले गरे । मोहनविक्रमलाई बहुमत पक्षले ‘व्यक्तिवादी’ भएको आरोप लगाएाके थियो । अर्थात् उनी पार्टीलाई व्यक्तिगत शैलीमा चलाउन चाहन्थे । जसको विरोध बहुमत पक्षले गरेको थियो । मोटो मशालका नेताहरु मोहनविक्रम र उनको पार्टीलाई व्यक्तिवादी भनेर सम्बोधन गर्दथे । अहिले परिवेश बदलिएको छ । मोहनविक्रमलाई व्यक्तिवादी भएको आरोप लगाउने प्रचण्ड आफै चरम व्यक्तिवादी बनेको माओवादी नेताहरु नै बताउँछन् । जसको कारण पार्टीबाट असल र इमान्दार कार्यकर्ताहरु पाखा लाग्ने अवस्था आएको बताइन्छ ।
प्रतिक्रिया