एमालेको शक्ति प्रदर्शन : सरकारमा रहेर जनपक्षीय काम गर्ने कि सडकमा ओर्लिने ?

शुक्रबार, ०७ मंसिर २०८१, १३ : ५८

काठमाडौं- आफैं सरकारमा रहेर शक्ति प्रदर्शन गर्न लागेको एमालेको आजको कार्यक्रममाथि चौतर्फी प्रश्न उठेको छ । सरकारमै रहेर कसका विरुद्ध शक्ति प्रदर्शन गर्न लागिएको हो भन्दै जनस्तरबाटै प्रश्न उठाइएको छ । 

यद्यपि एमाले भने बढ्दो निराशा र सरकारप्रति फैलाइएका अफबाह चिर्न जागरण सभा गरिएको बताउँछ । तर सरकारको नेतृत्वमा रहेर जनपक्षीय कामबाटै निराशा हटाउनुपर्ने एमाले आफ्नो दायित्वबाट विमुख भएर गरिएको सडक प्रदर्शनको औचित्यमाथि नै प्रश्न उठेको छ ।

सरकारले जनतामा आशा पैदा गराउनुपर्ने बेलामा एमाले आफैं सडकमा ओर्लिनु अशोभनीय मात्रै होइन उसको गैरजिम्मेवारीपन झल्काउँछ । जनताको पक्षमा काम गरी बढ्दो निराशा चिर्नुपर्ने दायित्वबाट विमुख भएर गरिएको एमालेकोे सडकमा प्रदर्शनले अराजकतालाई थप प्रश्रय दिएको राजनीतिका जानकारहरु बताउँछन् ।

यसको सन्देशबारे स्वयं एमालेका नेताहरुले समेत मूर्त जवाफ दिन असमर्थ रहेका छन् । अराजकता र निराशा चिर्ने भन्दै सत्तारुढ दलले गर्न लागेको सडक प्रदर्शनको उद्देश्य कामले होइन भीडमार्फत आफ्नो बचाउ गर्न खोजेको आभाष दिलाएको छ । यसले राजनीतिक अस्थिरताको संकेत गर्दै मुलुकलाई भीडतन्त्रमार्फत मुडभेडको स्थिति निम्त्याउन सक्ने समेत आशंका गरिएको छ ।

देशको अर्थतन्त्र दिनानुदिन ओरालो लागेर राष्ट्रिय ऋण आकाशिँदा पनि यसप्रति कसैले गम्भीरताका साथ ध्यान दिँदैनन् । तर आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्न र निर्दिष्ट जिम्मेवारी वहन गर्ने असमर्थता भीडको आवरणमा परिपूर्ति गर्ने प्रवृत्ति अहिले बढिरहेको छ । भीडको सहारा लिएर असक्षमता ढाकछोप गर्ने मनोवृत्ति नेपालका राजनीतिकदलका नेताहरुमा देखा परेको छ । 

सरकारमा रहँदा जनपक्षीय काम गर्न नसक्ने तर बाहिरिएपछि सुशासनका चर्का भाषण गर्ने प्रवृत्तिलाई माथ खुवाउँदै एमाले भने सरकारमा रहेर नै सडक प्रदर्शनमार्फत आफ्नो प्रतिरक्षा गर्ने तहमा ओर्लिएको छ । 

मुलुकमा राजनीतिक स्थिरता र सुशासन कायम गर्ने भन्दै सत्ता सहकार्य गरेका कांग्रेस एमालेको सरकार गठन भएको करिब पाँच महिना पुगेको छ । यस अवधिमा सरकारले आफ्नो उपस्थिति जनता समक्ष कामबाट दिलाउन सकेको छैन । 

देशका बग्रेल्ती समस्या समाधान गर्ने दायित्व बोकेको सत्तासीन दलले नै सडक प्रदर्शन गर्ने प्रवृत्ति मौलाउँदै जाने हो भने त्यसको निरुपण चाहिँ कसले गर्ने ?  एमालेको आजको प्रदर्शनले यही प्रश्न उठाएको छ ।  

शुक्रबार, ०७ मंसिर २०८१, १३ : ५८

प्रतिक्रिया