काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नातिनीको बिहेको चटारोकै बेलामा पार्टी एकता पनि टुंगो लगाउन प्रयासरत छन् ।
यही मंसिर २१ गते आफ्नो कान्छी छोरी गंगाकी पुत्री स्मीता दाहालको बिहेको लगन नजिकिँदै गर्दा प्रचण्ड भने पार्टी एकताका लागि माधव नेपाल र नेत्रविक्रम चन्द विप्लव कहाँ धाउँदै हिँडेका छन् ।
खुमलटार निकट स्रोतका अनुसार प्रचण्डले नेकपाका अध्यक्ष विप्लव र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई तारन्तार सम्पर्क गरी तत्काल पार्टी एकतामा ल्याउन जोड गरिरहेका छन् ।
प्रचण्डले केही दिनयता विप्लवसँग भेट गरी माधव नेपाल एकताको लागि तयार भइसकेको जनाउँदै उनलाई आश्वस्त तुल्याउने प्रयत्न गरिरहेका छन् भने अर्कोतिर नेपाललाई भेट्दा विप्लव तम्तयार रहेको बताएर फेरि उनलाई विश्वस्त तुल्याउने प्रयत्न गरेको स्रोतले जनाएको छ ।
प्रचण्ड निवास खुमलटारमा अचेल आफ्नी नातिनी गंगा पुत्री स्मिताको बिहे भन्दा पनि प्रचण्डलाई पार्टी एकताको निकै चटारो परेको छ । आफ्नो पार्टीमा व्याप्त आन्तरिक कलह निरुपण गर्ने एकमात्रै विकल्प प्रचण्डले पार्टी एकता मात्रै देखेका छन् ।
उनले नातिनीको बिहे भन्दा पनि विप्लव र माधव नेपालसँगको एकतालाई मुख्य प्राथमिकता दिएको खुमलटार स्रोत बताउँछ । उनी माधव–विप्लवसँगको पार्टी एकतालाई मूर्तरुप दिएर पार्टीभित्रको संकट टार्न प्रयत्नशील छन् ।
माओवादीमा पछिल्लो समय नेतृत्वको विकल्पका विषयमा उमहासचिव जनार्दन शर्माले बहस सुरु गरेपछि प्रचण्ड आफ्नो ३६ वर्षे पार्टी नेतृत्वको अनवरत यात्रा अवरुद्ध हुने भयले सशंकित छन् ।
यसबाट उन्मुक्ति पाउन प्रचण्डले विप्लव र माधव नेपालाई पार्टीमा भित्र्याएर हालको अन्तरविरोध मत्थर बनाउन उद्दत रहेपनि एकता प्रक्रियाले भने ठोस परिणाम हासिल गर्न सकेको छैन ।
लामो समयदेखि पार्टी एकताका लागि प्रचण्डले अनेकौं पहल गरे पनि एकता प्रक्रियाले मूर्तरुप लिन नसकेको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन् ।
पार्टी प्रवक्ता समेत रहेका खतिवडाले आजको अर्थसँगको कुराकानीमा भने,‘ तत्काल एकताको कुनै गुञ्जायस छैन । समाजवादी मोर्चालाई अघि बढाउनेसम्म सहकार्य हुनसक्छ, त्यसबाहेक माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना छैन ।’उनले पार्टी एकताको पहल प्रचण्डले गरे पनि तत्काल सम्भावना नरहेको बताउँदै त्यसमा आफ्नो पार्टीको कुनै तयारी नरहेको प्रष्ट्याए ।
उता, त्यही प्रचण्ड निवास खुमलटारमै प्रचण्डलाई पार्टी एकताको चटारो परे जस्तै छोरी गंगालाई भने बिहेको चाजोपाजो मिलाउन भ्याइनभ्याइ छ । प्रचण्ड पुत्री गंगा छोरीको बिहे व्यापारी घरानासँग जोडिन लागेको भन्दैे निकै दंग परेको खुमलटार स्रोत बताउँछ ।
प्रचण्डकी नातिनीको बिहे एनसेल खरिदकर्ता गैर आवासीय नेपाली सतिशलाल आचार्यको भान्जा सायुज्य श्रेष्ठसँग हुन लागको छ । नेपाली मूलका सिंगापुर नागरिक रहेका आचार्यले यस अघि नेपालमा निकै कर तिर्न बाँकी रहेको एनसेल राजनीतिक मिलेमतोमा खरिद गरेका थिए ।
नेपालमा एनसेलको कर विवाद कायम रहँदा आचार्य सञ्चालक रहेको बेलायती कम्पनी स्प्रेक्ट्रलाईट युकेले विदेशबाटै विवादास्पद रुपमा ८० प्रतिशत सेयर खरिद गरेको थियो भने बाँकी २० प्रतिशत कम्पनीको स्वामित्व पनि उनै आचार्यले आफ्नी श्रीमतीको नाममा ल्याएका थिए ।
पछिल्लो समय नेपालमा निकै चर्चामा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री ओलीलाई जोडेर प्रचार गरेको कम्बोडियाको टेलिकमका प्रमुख लगानीकर्ता पनि यिनै आचार्य हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत त्यही टेलिकममा लगानी रहेको अफबाह फैलाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको छ।
यस्ता चर्चित व्यक्तिको पारीवारिक नातेदारसँग सम्बन्ध जोड्न पाउँदा प्रचण्ड पुत्री गंगा निकै प्रफुल्ल भएकी छिन् । उनले आफ्नो पनि व्यापारीक घरानासँग पारीवारिक सम्बन्ध जोडिन लागेको भन्दै प्रफुल्ल मुद्रामा एक आपसमा खुशी व्यक्त गर्न थालेको खुमलटार स्रोतको दाबी छ ।
दाम्पत्य जीवनमा बाँधिन लागेका यी सतिशलालका भाञ्जा सायुज्य र प्रचण्डकी नातिनी स्मीता कलेजका सहपाठी रहँदा प्रेम सम्बन्धमा परेको बतइएको छ । एक साता पछि गोकर्णस्थित नर्लिङ रिसोर्टमा यी दुबैको भव्य बिहे हुन लागेको छ । बिहेको सम्पूर्ण व्यवस्थापनको जिम्मा पनि प्रचण्डका किचेन क्याबिनेटका सदस्यहरुलाई बाँडफाँट गरिएको छ ।
स्रोतका अनुसार आफ्नै छोरीको बिहे भएकाले उद्योगी व्यापारीसँग खर्चको जोहो गर्ने जिम्मा गंगा आफैंले लिएकी छिन् । आवश्यकता अनुसार खर्च थप गर्नुपरे त्यसको चाजोपाजो मिलाउने जिम्मा प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई दिइएको छ । बाँकी आर्थिक व्यवस्थापनका लागि मारवाडी समुदाय मिलाउने जिम्मा मल्ललाई दिइएको खुमलटार स्रोतले बतायो ।
यस्तै अघिल्लो पटक प्रचण्डकी अर्की नातिनी भरतपुरकी मेयर रेणुको छोरी प्रतिभा पाठकको बिहे गोकर्ण रिसोर्टमा भव्य तामझामका साथ निकै भड्किलो तवरले गरिएको भन्दै सामाजिक सञ्जाल लगायत विभिन्न मिडियामा चौतर्फी आलोचना भएको थियो ।
यसपालि त्यसो हुन नदिन पत्रकारहरु एवं मिडियालाई व्यवस्थापन गर्न पनि खुमलटारले एक जना पत्रकारलाई परिचालन गरेको छ । मिडिया र पत्रकारलाई व्यवस्थापन गर्ने जिम्मा प्रचण्ड प्रधानमन्त्री रहँदा प्रेस सल्लाहकार रहेका गोविन्द आचार्यलाई दिइएको छ ।
पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका आचार्य प्रचण्डको किचेन क्याबिनेट भित्रका पत्रकार हुन् । उनै आचार्यलाई सम्पूर्ण मिडिया र पत्रकारलाई मिलाउने जिम्मा दिइएको खुमलटार स्रोतको दाबी छ ।
प्रतिक्रिया