स्थानीय तह उपनिर्वाचन

गढी गाउँपालिका-६ का उम्मेदवारहरु घरदैलोमा, मतदाता भने आफ्नै काममा व्यस्त

विहीबार, १३ मंसिर २०८१, १० : २६

सुनसरी- सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै थिइन्। विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । उहाँलाई साह कसरी धान काट्न र आएको मजदुरीबाट घरपरिवारका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने भन्ने चिन्ता  थियो । उहाँजस्तै गढी–६ कै ५० वर्षीया रोना साह धान काट्नमा नै व्यस्त थिइन् ।

यही मंसिर १६ गते सुनसरीको १२ स्थानीय तह मध्यको गढी ६ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनको विषयमा उनलाई खासै मतलब थिएन । उनीहरू गढी ६ का प्रतिनिधि पात्र मात्र हुन् ।

कोही ज्याला मजदुरीमा त कोही सानोतिनो व्यापार–व्यवसाय गरेर दैनिक गुजारा टार्दै आएकाले सोही काममा व्यस्त हुने गरेको स्थानीय मतदाता अञ्जुदेवी साहले बताइन् । “चुनावले घरखर्च चलाइदिँदैन त्यसका लागि काम गर्नैपर्यौ चुनावका दिन जाउला कुनै एक जनालाई मतदान गरौँला”, उक्त क्षेत्रकी मतदाता अञ्जु साह भन्छिन् । प्रायः मतदाता घरमा नभेटिने गरेको र चुनावप्रति धेरै चासो नरहेको पाइएको छ । 

मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उम्मेदवार र नेतालाई समस्या भएको छ भने कसको पक्षमा नतिजा जान्छ भन्ने ठम्म्याउन कठिन भएको छ । विसं २०७९ को स्थानीयतहको निर्वाचनमा गढी–६ मा एमालेका षडानन्द उराँवले जितेका थिए । उनले सात सय १२ मत ल्याएका थिए । उनको निधनपछि यस वडामा पुनः चुनाव हुन लागेको हो ।

गत चुनावमा नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले चार सय २४ मत ल्याएर दोस्रो स्थान ओगट्दा कांग्रेसका तिलेश्वर चौधरी चार सय १६ मतका साथ तेस्रो स्थानमा रहेका थिए। 

जनता समाजवादी पार्टीको साथ पाएको माओवादी केन्द्र यसपटक जसरी भए पनि गढी ६ मा जित निकाल्ने कसरतमा लागेको छ । गढी–६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार, कांग्रेसबाट तेतर साह र एमालेबाट सन्तु उराँव चुनावी मैदानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविताकुमारी उराँव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा उत्रिएका छन्। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त वडामा एक हजार आठ सय ७३ पुरुष र एक हजार सात सय ४९ महिला मतदाता छन् । 

विहीबार, १३ मंसिर २०८१, १० : २६

प्रतिक्रिया