काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमणका रुपमा तय गरिएको चीन भ्रमण निरर्थक हुने संकेत देखिएको छ ।
यही सोमबार जम्बो टोली लिएर चीन जान लागेका प्रधानमन्त्री ओलीले सत्ता जोगाउन र कांग्रेस रिझाउन (बेल्ट एण्ड रोड इनिसिभिएटी) बिआरआई परियोजना बारे अझै ठोस निर्णय लिन असमर्थ भएसँगै भ्रमणको एजेण्डा अझैसम्म अनिश्चय बनेको छ ।
उनले सत्ता समीकरणमा दरार आउने सम्भावना देखेरै कांग्रेसकै अडान अनुरुप बिआरआई कार्यान्वयनका लागि ऋण लिन नसकिने अभिव्यक्ति दिएपछि ओलीको भ्रमणप्रति चीन उत्साहित देखिएको छैन । चीनले नेपालस्थित आफ्नो राजदूत मार्फत बिआरआई लक्षित अभिव्यक्ति प्रति रुष्ट रहेको जानकारी गराइसकेको छ ।
प्रधानमन्त्री ओली भूराजनीतिक दबाव र सत्ता समीकरणको आन्तरिक उल्झनले बिआरआईबारे अन्योलपूर्ण अभिव्यक्ति दिँदै आएका थिए । पछिल्लो समय भ्रमणको समय नजिकिँदै गर्दा ओलीले बिआरआई कार्यान्यनका लागि ऋण लिन नसकिने कांग्रेसकै धारणा बमोजिमकै अभिव्यक्ति दिएपछि चीन झस्किएको हो ।
उनले केही दिन अघि एमालेद्वारा आयोजित जागरण सभामा समेत बिआरआई लक्षित ऋण लिन नसकिने आशयको अभिव्यक्ति दिएका थिए । त्यसपछि परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीस्वरुप नेपालका लागि चिनियाँ राजदूत चेन सङसँगको भेट गरेकी थिइन् । उक्त भेटमा ओलीको अभिव्यक्ति प्रति चिनियाँ राजदूतले असन्तुष्टि प्रकट गरेका थिए ।
सत्ता सहयात्री कांग्रेसको ऋण लिन नसकिने अडानमा लत्रिएका ओली कांग्रेसकै एजेण्डा बोकेर चीन भ्रमणमा निस्किन लागेका छन् । एमाले माओवादी लगायतका वामपंथी दलहरु बिआरआई कार्यान्वयनको पक्षमा देखिएका छन् । तर कांग्रेस भने उक्त परियोजनाका लागि ऋण स्वीकार्न नसकिने अडानमा अडिग छ ।
यसले आन्तरिक र बाह्यरुपमा चौतर्फी संकटमा परेका ओलीको चीन भ्रमण उत्साहजनक नहुने निश्चित देखिएको छ । केही दिन यता ओलीले आफ्ना निकटस्थहरुसँगको भेटमा समेत चीन भ्रमण र बिआरआईबारे अन्योलग्रस्त अभिव्यक्ति दिँदै आइरहेका छन् ।
बिआरआई प्रति अनुदार रहेको पटक पटकको अभिव्यक्तिले चिढिएको चीन ओलीको भ्रमण प्रति उत्साहित नभएको विषय पनि सार्वजनिक भइरहेको छ। प्रधानमन्त्री ओली आफूसँग भेट गर्न आएका निकटस्थ नेताहरुसँग पनि चीन भ्रमण र बिआरआई कार्यान्वयनको सकसले संकटमा परेको बताउने गरेको बालुवाटार स्रोतको दाबी छ ।
भूराजनीतिका जानकार तथा राजनीतिक विश्लेषक भरत दाहालले पनि प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति चीन रुष्ट रहेको र स्वागतका लागि समेत अनिच्छुक भएको बताएका छन् ।
‘बिआरआई अन्तर्गत कुनै पनि सम्झौता नगर्ने ओलीको अभिब्यक्ती विरूद्ध रोष प्रकट गर्दै चीनले भ्रमणमा नआए पनि हुन्छ भन्ने सन्देश दिईसकेको छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
चिनियाँ मिडियाले लिने भनिएको ओलीको अन्तर्वार्ता समेत रद्द गरिएको दाहालले उल्लेख गरेका छन् । ‘भ्रमणको संघारमा ओलीको बोलिप्रती आपत्ती जनाउनु भनेको कूुटनीतिक भाषामा स्वागतका लागि अनिच्छुक रहेको जानकारी गराउनु हो।’, उनले अगाडि लेखेका छन्’, ‘चिनियाँ मिडियाले ओलीसँग लिने भनी तयारी गरेको ‘एक्सक्लुसिभ’ अन्तर्वार्ता पनि रद्द भैसकेको छ।’
प्रतिक्रिया