स्थानीय तह उपनिर्वाचन

नुवाकोटको ककनी- २ मा माओवादीको पुनरागमन

सोमबार, १७ मंसिर २०८१, ०९ : ४५

नुवाकोट- नुवाकोटको ककनी गाउँपालिका २ मा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार कृष्ण घिमिरे मिलनले जित हात पारेका छन् । यसअघि बलियो प्रभाव हुँदाहुँदै पनि गुमाएको यस वडामा माओवादीका उम्मेदवार मिलनले दोस्रो प्रयासमा जित हात पारेका हुन् ।


माओवादीका उम्मेदवार मिलनले १ हजार ८५ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्य जिम्बा तामाङले ५८७ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका यामबहादुर लामाले ३४१ मत प्राप्त गरेका छन् । 

२०७४ को स्थानीय तह निर्वाचनमा यस गाउँपालिकामा माओवादीबाट अध्यक्षमा निर्वाचित भएका मानबहादुर लामा गत निर्वाचनमा पनि उम्मेदवारको आकांक्षी रहेका थिए । तर  पार्टीभित्र भएको आन्तरिक प्रतिस्पर्धामा लामालाई पराजित गर्दै सुमन तामाङ सज्जनले उम्मेदवारको टिकट प्राप्त गरेका थिए । 

पार्टीको आन्तरिक निर्वाचनबाट अध्यक्षको टिकट हात पारेर स्थानीय तह निर्वाचनमा होमिएका तामाङ ककनी गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । गत निर्वाचनमा आन्तरिक प्रतिस्पर्धी रहेका लामाको असहयोगका बाबजुद पनि उनले कांग्रेसका उम्मेदवार नवराज घिमिरेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

पार्टीको आन्तरिक निर्वाचनमै पराजय व्यहोरेर टिकट पाउन नसकेका लामाले चुनावी अभियानमा कतै पनि सहभागिता जनाएनन् । उनको असहयोग रहँदा पनि ककनीको अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादीले जित हात पारेको थियो । 
 
मानबहादुर लामा आफूले टिकट प्राप्त गर्न नसकेपछि ७९ को चुनावमा व्यापक असहयोग गरेका थिए । तथापि यस गाउँपालिकामा जित हासिल गरेको माओवादीले यसपाली पनि वडा नं २ को उपनिर्वाचन जितेर यहाँ लामाको  कुनै प्रभाव नरहेको सन्देश दिएको छ । 

यस पटक पनि माओवादीबाट टिकट नपाएर एमालेमा पुगेका लामालाई चुनौती दिन पनि जित्नैपर्ने दबावमा माओवादी रहेको थियो । चौतर्फी प्रतिकुलताका बीच पनि ककनी २ मा माओवादीले विजय हासिल गरेको छ ।  

लामाको एमालेमा प्रवेशले यो उपनिर्वाचनसहित आगामी २०८४ को स्थानीय तह निर्वाचनमा समेत प्रभाव पार्ने आँकलन गरिएको थियो । यद्यपि परिणाम भने माओवादीकै पक्षमा देखिएको छ । 

यस अघि जित हात पारेको कांग्रेसले यस वडामा आफ्नो पूर्ववत् मत समेत जोगाउन सकेन । गत निर्वाचनमा  कांग्रेसका तिलकबहादुर लामा ८८८ मत सहित विजयी भएका थिए भने माओवादीबाट गत निर्वाचनमै प्रतिस्पर्धी रहेका नवनिर्वाचित वडाअध्यक्ष यिनै घिमिरेले ७३४ मत ल्याएका थिए । 

कांग्रेसबाट निर्वाचित भएका लामाको निधन पछि यस वडामा उपनिर्वाचन भएको हो ।  अघिल्लो निर्वाचनमा विजयी भएको कांग्रेसले यसपाली आफ्नो तत्कालीन मत समेत गुमाएर जम्मा ५८७ मत मात्र हात पारेको छ । 

सोमबार, १७ मंसिर २०८१, ०९ : ४५

प्रतिक्रिया