काठमाडौं- नेपाल प्रहरीले ‘मुस्कान सहितको प्रहरी सेवा’को रुपमा आफ्नो सेवा प्रवाह गर्ने नारा तय गरे पनि व्यवहारमा भने त्यसको कुनै गुञ्जायस देखिँदैन ।
कतिपय जोखिमयुक्त सुरक्षा संवेदनशीलता र भीड नियन्त्रणको अवस्थामा प्रहरीको बलप्रयोगलाई स्वभाविक रुपमा लिन सकिन्छ, अनेकौं संयमता अपनाउँदा पनि कहिलेकाही त्यो आवश्यक पनि हुन सक्छ । तर कार्यालयबाटै प्रदान गरिने नियमित सेवा प्रवाहमा समेत प्रहरीले आफ्नो उपरोक्त नारा परिपालन नगरेको जनमानसमा व्यापक गुनासो छ ।
पछिल्लो समय यही प्रहरी संगठनका चितवनस्थित कार्यालयका प्रहरी कर्मचारीहरुले मादक पदार्थ सेवन गरेर पूर्वगृहमन्त्री रवि लामिछानेलाई लछारपछार गरेर पोखरा पुर्याइएको आरोप लागेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री लामिछानेलाई यही बुधबार चितवनबाट पोखरा रातारात लगिएको थियो । चितवनको साहारा सहकारीको रकम अपचलनको अनुसन्धान गर्न ल्याइएका उनलाई त्यस दिन पोखरा लैजाने कुनै तयारी नै थिएन ।
दिनभर बयान दिएर थकित भएर आराम गरेका लामिछानेलाई पूर्वयोजना विपरीत गत बुधबार मध्यरातमा उठाएर पोखरा लगिएको भन्दै प्रहरीले हिरासतमा रहेका उनको मानव अधिकार उल्लंघन गरेको आरोप रास्वपाले लगाएको छ ।अहिले उनको दल रास्वपाले यसबारे मानव अधिकार आयोग लगायत अन्य न्यायिक निकाय गुहारेको छ ।
प्रहरी प्रमुख बसन्त कुँवरको ठाडो निर्देशनमा रविलाई मध्यरात पोखरा लगिएको रास्वपाका नेताहरु बताउँछन् । उनीहरुले हिरासतमा रहेका लामिछानेलाई परिवार र सचिवालयसँग सम्पर्क गर्न नदिई प्रहरी प्रमुख कुँवरको निर्देशनमा जबर्जस्ती उठाइएको आरोप लगाएका छन् ।
यहाँ स्मरणीय के छ भने यिनै प्रहरी प्रमुख कुँवरले रवि गृहमन्त्री हुँदा संसदीय समिति समक्ष बयानमा रवि निर्दोष रहेको बताउँदे उनको विरुद्धमा देशभर कहीँकतै उजुरी नपरेको जिकिर गरेका थिए । अहिले कुँवर मातहतकै विभिन्न जिल्लास्थित प्रहरी संगठनले रविलाई अनुसन्धान गर्न अदालतबाट पक्राउ पुर्जी जारी गराइरहेको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएर यिनै प्रहरी प्रमुख कुँवरले कुनै तथ्परक प्रमाण नभेटिएको दाबी गरेका थिए । २०८० चैत १४ गतेको बैठकमा रविको संलग्नता नरहेको जिकिर गर्दै भनेका थिए, ‘अहिले जुन सांकेतिकरुपमा आएको छ, रवि लामिछाने भन्ने त्यो विषयमा अहिलेसम्म तथ्य प्रमाण र कुनै आधार देखिँदैन ।’
प्रहरी प्रमुख कुँरले पदमा बहाल रहेका आफ्ना तत्कालीन विभागीय मन्त्री लामिछानेको बचाउ गर्दै सहकारीको रकम अपचलनमा जिबी राई नै दोषी भएको दाबी गरेका थिए ।
कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । उनलाई त्यहाँबाट अन्य विभिन्न स्थानमा भएका सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान गर्न लगिएको छ ।
काठमाडौं, पोखरा, बुटवल, चितवन र पर्साका सहकारीको रकम अपचलनमा समेत लामिछाने मुछिएका छन् । उनका तत्कालीन साझेदार गोर्खा मिडियाका अध्यक्ष रहेका जिबी राई अहिले फरार रहेका छन् । सोही गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनको प्रवन्ध निर्देशक लामिछाने रहेका थिए ।
अहिले यिनै लामिछाने प्रहरी प्रमुख कुँवरकै कार्यकालमै सहकारी ठगी प्रकरणमा हिरासतमा पुगेका छन् । र, कुँवरकै निर्देशनमा दुव्र्यवहारपूर्ण तवरले रातारात चितवनबाट पोखरा लगिएको आरोप रास्वपाका नेताहरुले लगाएका छन् ।
पहिले गृहमन्त्रीको पदमा रहँदा बचाउमा उत्रिएका प्रहरी प्रमुख कुँवर अहिले भने हिरासतमा रहेका अभियुक्तलाई गरिने सामान्य व्यवहारको समेत हेक्का नराखी मध्यरातमा सुतेका लामिछानेलाई पोखरा लैजान आफू मातहतका प्रहरी कर्मचारीलाई निर्देशित गरिहेका छन् ।
तर, यस्तै सहकारी ठगी प्रकरणमा संलग्नताको आरोप लागेका सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरुलाई भने कानुनी दायरामा ल्याउने साहस प्रहरी प्रमुख कुँवरले गर्न सकेका छैनन् ।
कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई कानुनी दायरामा नल्याइँदा प्रहरी संगठनको निष्पक्षतामा प्रश्न उठेको छ । यसले सत्तामा हुँदा निर्दोष दाबी गर्ने र प्रतिपक्षमा पुग्दा मात्रै गिरफ्तारीको साहस प्रदर्शित गर्ने सरकारको आदेशपालक संगठनको रुपमा प्रहरीमा पुरानै मानक यथावत रहेको देखाउँछ ।
पदमा रहँदा निरीहता प्रकट गर्दै निर्दोष घोषणा गर्न पछि नपरेका प्रहरी प्रमुख कुँवर अहिले भने सत्तामा रहेकाहरुमाथि फेरि सोही व्यवहार देखाएर छुट दिएका छन् । र, उनीहरुको आदेशपालक बनेर लामिछानेलाई गिरफ्तार गरी सत्तारुढ दल रिझाएर बहादुरी प्रदर्शन गर्ने ध्याउन्नमा लागेका छन् ।
प्रतिक्रिया