काठमाडाैं- बाँके जिल्ला राप्ती पारी पूर्वउत्तरकाे एउटा मनमाेहक पहाडमा अवस्थित मन्दिर हाे- सन्तानेश्वर महादेव । मुख्य मार्गबाट किरब ७ किमि उत्तरतिर जंगलकाे बिचमा रहकाे मन्दिरकाे यतिबेला देशविदेशमा चर्चा चलिरहेकाे छ । त्रिशूलकाे आकारमा रहेकाे भब्य पहाडी श्रृंखलाकाे बिच पहाडकाे टुप्पाेमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा दिनहुँ श्रद्धालुहरुकाे आवागमन भइरहेकाे हुन्छ । प्राचिन समयदेखि रहेकाे उक्त धार्मिक स्थलकाे खाेज भने आजभन्दा १५० वर्ष अगाडि एकजना त्यहीँका स्थानीय साधु यादवले गरेकाे बताइन्छ ।
जंगलमा काठ-दाउरा गर्न जाने क्रममा उनले उक्त स्थान देखेकाे यादवका सन्ततीहरु बताउँंछन् । जंगलकाे बिचमा रहेकाे पहाडकाे टुप्पाेमा उनले एउटा प्राचिन हवनकुण्ड देखेका थिए । त्याे देख्दासाथ उनकाे मनमस्तिष्कमा राेमाञ्च भएकाे साधुलाई सुन्नेहरु बताउँछन् । याे कुनै शक्तिशाली स्थान हाे भन्ने जानेर मन्नतमा विश्वास गर्ने साधु यादवले त्यहाँ भाकल गरे । आफ्नाे मन्नत अनुसार भएमा याे ठाउँमा गाउँ समाजलाई बाेलाएर भण्डारा गराउने कामना साधु यादवले गरे ।
कालान्तरमा जीर्ण भइसकेकाे उक्त हवनकुण्ड वरिपरी मान्छेहरु बस्ने ठाउँपनि पर्याप्त थिएन । भूस्खलन भएर हवनकुण्ड मात्र बाँकी थियाे, अप्ठ्याराे पहाडकाे टुप्पाेमा । स्थान शक्तिशाली भएकाेले हाेला, केही महिनाकै अन्तरालमा साधु यादवकाे कामना पुरा भयाे । उनले भाकल गरे अनुरुप गाउँबाट आफ्नाे सखा-सम्बन्धि एवं इष्टमित्र सहित त्यहाँ गई पहिलाेचाेटी भाैंरी (आगाेमा पाेलेकाे पिठाेकाे डल्लाे) र खीरकाे भण्डारा गराए । हवनकुण्ड भएकाे ठाउँमा पहिलाे झण्डा(पताका) गाडियाे । हवनकुण्ड भएकाले हाेला यसलाई धार्मिक स्थलकाे रुपमा त्यहाँ गएकाहरुले वेदीहवा नामाकरण गरे । मधेषमा वेदीहवा भनियाे वेदी भनेकाे हवनकुण्ड हाे ।
यसका साथै साधु यादवले आफुले अब प्रत्येक वर्ष यहाँ आई झण्डा (पताका) लगाई भाैंरी र खीरकाे भण्डारा लगाउने भाकल गरे । आफु उपरान्त पनि आफ्ना पछाडिका सन्ततीहरुले याे परम्परा चलाईराख्ने भाकल उनले 'वेदीहवा' मा गरेका थिए जुन उनका सन्ततीहरुले आजसम्म पनि जारी राखेका छन् ।
"दादा जी ताे नाईं हैं, लेकिन हमलाेग हर साल सन्तानेश्वर (वेदीहवा) में भाैंरी-खीर के भण्डारा लगावा जाथै । खाली हमलाेग नाही पुरे गाउँके लाेग और ताे और इंडिया से भी आइके लाेग यिहाँ पूजा करथैं । (बाजे त हुनुहुन्न तर हामी हर साल सन्तानेश्वरमा भाैंरी-खीर काे भण्डारा गराउँछाैं । हामी मात्र हाेइन पुरै गाउँका मान्छे अरु त अरु भारतबाट आएर पनि मान्छेहरु यहाँ पूजा गर्छन् ।)" साधु यादवकाे नाती पर्नेले भने, "जबसे पहाडी वावा आए हैं, यी जगाह मे ताे चार चाँद लग्गवा है, पहले गाउँके और इंडिया के कुछ लाेगकाे खाली इस जगाह के विषयमे मालुम राहा अब ताे दूर-दूर देशविदेश से लाेग आए लागे । हर दिन भक्ताें के भीँड रहथै उहाँ । (जबबाट पहाडी वावा आउनुभयाे, याे ठाउँमा चार चाँद लागेकाे छ, पहिला गाउँका र भारतका केही मान्छेलाई मात्र याे ठाउँकाे विषयमा थाहा थियाे अब त टाढा-टाढा देशविदेशबाट मान्छेहरु आउन लागे । प्रत्येक दिन श्रद्धालुहरुकाे भीँड रहन्छ त्यहाँ ।)"
समय वित्दै गयाे, साधुकाे परिवारले त परम्परा अनुसार वेदीहवाकाे सेवा गरि नै रहेका थिए, अरु उनी वरपर रहेका गाउँ समाजले पनि वेदीहवामा झण्डा गाड्ने, पूजा गर्ने, मन्नत माग्ने, भण्डारा लगाउने लगायतका धार्मिक अनुष्ठानहरु गर्ने शिलशिला चल्दै गयाे । स्थानकाे विषयमा गाउँघरमा चर्चा परिचर्चा हुन थाल्याे ।
वेदीहवामा क्रमश: धार्मिक आस्था राख्ने मान्छेहरुकाे आवागमन बढ्न थाल्याे । साधु यादवकाे परिवार पनि एकबाट धेरैमा फेलिसकेकाे थियाे । अलग-अलग बसेपनि प्रत्येक वर्ष आफ्नाे-आफ्नाे तरिकाले उक्त स्थानमा झण्डा(पताका) गाड्दै भण्डारा दिने परम्परा भने उनिहरुले जारी नै राखे, जुन आजपनि चलिरहेकाे छ । हिन्दूहरुमा पताका लगाउनु प्रमुख मानिन्छ । जाे वेदीहवामा गए, झण्डा(पताका) लगाए, जुन अल्काे टाढैबाट देखिने गरी राखिएकाे हुन्छ । जसकाे सम्पर्कले आस्थावान मानिसहरुमा सकारात्मक उर्जाकाे सञ्चार गर्न सकाेस् । समय वित्दै गयाे, श्रद्धालुहरुपनि बढ्दै गए अनि वेदीहवामा भयाे- झण्डैझण्डा ।
"ठाउँकाे नामै झण्डाहवा रहन गयाे, हामीले त्याे मन्दिर नबनाउँदासम्म यहीँ तलबाट झण्डाकाे थुप्राे देखिन्थ्याे ।" ८ किमि टाढा रहेकाे आफ्नाे घरबाट पहाडकाे टुप्पाेमा खडा रहेकाे सन्तानेश्वरलाई देखाउँदै स्थानीय अग्रज भवानी पण्डित भन्छन्, "त्यहाँ जाँदा वेदी भित्र बाहिर जताततै झण्डैझण्डा थियाे, पहाड तलबाट खस्किएर टुप्पाेमा रहेकाे वेदी पनि एकातिरबाट भत्किसकेकाे संरक्षण गर्न नमिल्ने अवस्थामा पुगिसकेकाे थियाे ।"
शक्तिशाली स्थान, उर्जाले भरिपूर्ण वेदीहवा माथिबाट हेर्दा तलकाे फाँट, डाँडाकाँडा, जंगल अनि अर्धचन्द्राकार भएर सन्तानेश्वर महादेव (वेदीहवा)लाई परिक्रमा गरेकी राप्ती नदी अत्यन्त सुन्दर र मनमाेहक देखिन्छ । भवानीसँगैका अर्का अग्रज चन्द्रबहादुर खड्का भन्छन्- "त्यहाँ पुग्न उकालाे चढ्दा केही गाह्राे भएपनि, पुगिसकेपछि भने जिन्दगी भरी कै थकाई मेटिए जस्ताे लाग्याे ।" ठाउँ उर्जायुक्त र आनन्ददायी भएकाे बताउँदै उनले भने, "त्यहाँ पुगेर तलकाे दृश्य नियाल्दा, वाह ! क्या आनन्द ! साेंच मै फरक पर्ने, सब विचार सकारात्मक ।"
त्यहाँ पुग्दा 'वेदीहवा'बाट 'झण्डाहवा' भइसकेकाे उक्त स्थानकाे संरक्षक काेही नहुनु, मनलाग्दाे जथाभावी झण्डा गाडिनु्, वेदी पनि लगभग नष्ट भइसकेकाे अवस्था, आफुहरुले केही गर्नु पर्याे भन्ने एउटै साेंच एकैपटक दुवैमा आएकाे सम्झन्छन् भवानी बाजे । खड्काले भने, "हामीलाई मन्दिर बनाउनु पर्याे भनेर भगवानले नै सुझाएका हुन्, नभए त्याे पानी पनि बाेकेर एक घण्टाकाे उकालाे चढाउनु पर्ने ठाउँमा एकाएक दुवैकाे मनमा मन्दिर बनाउने कुरा कसरी आयाे !" खड्काकाे कुरामा जाेड दिंदै भवानी पण्डितले भने, "मनमा अभाव-प्रभाव केही आएन, यतीमाथी ईंटाढुंगा कसरी पुर्याउने, मन्दिर निर्माणमा लाग्ने पानीकाे जाेहाे कसरी गर्ने सब तपशिल भए । हामी बस उक्त पावन स्थलमा मन्दिर बनाउनु छ भन्ने कुरामा दृढ संकल्पित भयाैं ।"
बाँके जिल्लाकाे राप्ती नदी पारीकाे त्याे क्षेत्र परापूर्व समयदेखि नै धार्मिक स्थलकाे रुपमा परिचित छ । राप्तीसाेनारी र नरैनापुर गाउँपालिकाले ओगटेकाे यस क्षेत्रमा ठुला-साना गरेर दर्जनाैं मन्दिरहरु रहेका छन् । चर्चित सन्तानेश्वर महादेव, गाेवर्द्धन पर्वत, बर्फानी वावा र भुँवरभवानी एकअर्काे ठाउँबाट देखिने गरी पहाडकाे डाँडा डाँडामा रहेका छन् । केबुलकारबाट एकअर्कालाई जाेड्ने हाे भने पुरै क्षेत्र गज्जबकाे पर्यटकीय क्षेत्र बन्न सक्ने त्यहाँ पुगेकाहरुकाे राय छ ।
विगतमा पूर्विय सभ्यता अनुसार अनुसन्धानकर्ता वैज्ञानिक भनेकाे साधु(साधक)हरु नै भएकाे जानकारहरु बताउँछन् । यस्तै साधकहरुले उर्जावान र एकान्त स्थानहरुकाे खाेजी गर्दै जानेक्रममा यी मन्दिरहरु बन्दै गएका हुन् । यस विषयमा जानकार, पूजा पुराेहितीलाई नै जिविकाेपार्जनकाे पेशा बनाएका भवानी पण्डित भन्छन्, "एउटा आफु बस्ने घर बनाउँदा त हामी अनेक चरणका पूजा गर्ने, वास्तु मिलाउने, ज्याेतिष हेर्ने गर्छाैं भने मन्दिर बनाउँदा कति गर्नुपर्ला !" मन्दिरमा आस्ठा अनुरुप एउटा प्रतिमा राख्नुपर्ने र साे प्रतिमामा साधुले नै प्राण भर्नुपर्ने नियम भएकाे उल्लेख गर्दै उनले भने, "महादेवकाे कृपाले प्राणप्रतिष्ठा गर्ने साधु र मन्दिरकाे नाम पनि मेराे मनमा अभिर्भाव भैगयाे !"
त्यसै क्षेत्रमा एकजना साधु(साधक) रहन्थे । साधुकाे आगमन कहाँदेखि र कहिले भयाे जान्न नपाएका भवानी पण्डितकाे बुबाले उक्त साधुलाई पुज्दै आएका थिए । भवानीले प्रतिमाकाे प्राण प्रतिष्ठाकाे लागी उनै साधुलाई राेजे । साधुलाई वेदीहवाकाे महातम्य सर्वविदितै थियाे । अज्ञातवासकाे समयमा पाण्डवहरु यही बाटाे भएर यात्रा गर्दा उक्त वेदी निर्माण गरेकाे कथन वावा जीकाे छ । वर्षाैं पहिले वेदीहवामा पुग्दा कैयाैं अलाैकिक अदृश्य शक्तिहरुकाे दर्शन आफुले पाएकाे उनकाे दावी छ ।
९० वर्षका अग्ला गाेरा, आकर्षक जटा भएकाे वावा जीकाे निधारमा भित्रैबाट उज्यालाे त्रिपुण्डकाे तेज देखिन्छ । वालव्रह्मचारी रहेका वावा जीले आफ्नाे २८ वर्षकाे उमेरमा घर छाेडेर सन्यास लिएकाे बताउँछन् । आफ्नाे तपस्याकाे समय घाेर जंगलमा बाघ, भालु लगायत जंगली जनावरहरुसँग विताएकाे स्मरण गर्दै उनि भन्छन्, "बाबु ! १२ वर्ष त मैले रुखकाे हाँगामा सुतेर बिताएँ, काेल्टे फेर्दा उठेर हाँगामा बस्ने अनि फेरी अर्काे काेल्टे फेरेर सुत्ने गर्नुपर्थ्याे ।" आजसम्म सुगम स्थानमा सुतेकाे अवस्थामा पनि काेल्टे फेर्दा उठेर बस्ने काेल्टे फेरेर अनि फेरी सुत्ने गरेकाे उनले बताए ।
नम्र स्वभाव एवं सहयाेगी भावना भएका वावा जी वेदशास्त्रका ज्ञाता छन् । ब्राह्मण कूल नेपालमा जन्मिएका वावा जीले आफु जिज्ञासु भएकै कारण सन्यास लिएकाे बताउँछन् । श्री श्री १०८ श्री याेगानन्द दिव्यदर्शी गिरी नाम गरेका साधु महाराजलाई नेपाल-इंडियाकाे त्यस क्षेत्रमा पहाडी वावाकाे नामले चिन्दछन् । उनले पञ्च दशनाम जूना अखाडाबाट सन्यास लिएका हुन् ।
इंडिया र नेपालका दर्जनाैं स्थानमा मन्दिर आश्रम निर्माण गरिसकेका याेगानन्द महाराजले अब आफ्नाे समाधिस्थल सन्तानेश्वरलाई नै राेजेका छन् । उनि भन्छन्, "इंडियामा धेरै समय बिताएँ, नेपालमा जन्मेर मातृभूमीकाे लागि केही उल्लेख्य गर्नु छ, अब आफ्नाे बाँकी जीवन यही डाँडामा बिताउँछु, मेराे समाधी पनि यहीँ बन्छ ।" राष्ट्रप्रेमले ओतप्राेत याेगानन्द महाराज अहिलेका राष्ट्रसेवक हुँ भन्ने सबै पार्टीका नेताहरुसँग रुष्ट छन् । "राजनीति भनेकाे सेवाभावमा आधारित रहेर गर्नुपर्ने कुरा हाे, यिनले (नेताहरुले) पेशाकाे रुपमा लिएका छन् । राजनीतिलाई कमाएर खाने भाँडाे बनाएका छन् ।" हल्का दु:खी मुद्रामा उनले भने, "याे लयमा हिडिरहने हाे र विचारकाे शुद्धिकरणकाे विषयमा ध्यान नदिने हाे भने देशकाे भविष्य अन्धकार तिर उन्मूख छ ।"
२०७० फागुनमा शिवरात्रीकाे पावन अवसर पारेर गाउँ समाजकाे सल्लाह र सहयाेगमा त्रिशूलकाे भव्य आकारमा रहेकाे पहाडी श्रृंखलाकाे बिच टुप्पाेमा पहाडलाई अलिकती खारेर त्यहाँ मन्दिर बनाए भवानी बाजे र खड्का लगायतले । श्री श्री १०८ श्री याेगानन्द दिव्यदर्शी गिरी 'पहाडी वावा' ले मन्दिरकाे प्रतिमा स्वरुप शिवलिंगकाे प्राण प्रतिष्ठा गरी सन्तानेश्वर महादेव नामाकरण गरियाे ।
वेदीहवा, झण्डाहवा हुँदै अहिले सन्तानेश्वर भएकाे उक्त स्थानमा दैनिक सयाैंकाे संख्यामा भक्तजनहरुकाे आवागमन हुने गरेकाे छ । शिवरात्री, तीज, श्रावणकाे महिना लगायत विशेष दिनहरुमा त दर्शनार्थीहरुकाे संख्या हजाराैं पुग्ने गरेकाे छ । सन्तानेश्वरमा शनिबार र छुट्टीकाे दिनहरु पारेर धर्ममा आस्था नराख्ने तर प्राकृतिक साैन्दर्यकाे लुप्त उठाउनेहरु पनि उत्तिकै पुग्ने गरेका छन् ।
प्रतिक्रिया