आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छः मन्त्री सिंह

शनिबार, २० बैशाख २०८२, १३ : ५७

काठमाडौं- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम राजनीतिक आर्थिक सामाजिक गतिविधि बढाउने गरी आएको बताएका छन् ।

स्यस्य समाज यलको ११औं स्थापना दिवसका अवसरमा आज मंगलबजारमा आयोजित नगरपरिक्रमा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार ठूलो सङ्घर्ष र बलिदानीबाट जारी भएको संविधान कार्यान्वयन तथा नागरिकको अपेक्षा पूरा गर्ने गरी नीति तथा कार्यक्रम आएको बताएका हुन् ।

“हरेकको जीवन सहज र सफल होस् भन्दै राजनीतिक स्थिरता दिँदै प्रतिकूलताबाट सहज बनाउन वर्तमान सरकार गठन भएको हो, धेरै सङ्घर्ष गरेर प्राप्त गरेको संविधानअनुसार अभ्यास गर्न पाएको कुरा भुल्नुहुँदैन”, उनले भने ।

उनले हरेक जातजातिको सहभागिताबाट समाजमा परापूर्वकालदेखि पुर्खाहरुले मिलेर समाजलाई अगाडि बढाउन गरेको योगदान र देखाएको सकारात्मक कुरालाई निरन्तरता दिन स्यस्य समाजले उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले विभिन्न भाषाभाषी भएको नेपाली समाजमा सबैलाई समेटेर योगदान र मूल्य–मान्यताको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

“काठमाडौँ उपत्यकाका सबै जातीय समुदायले एकताका साथ काम गर्न सक्नुपर्छ, एक्लाएक्लै काम गरेर समाजको एकता कायम हुन सक्दैन, समुदायमा जुनसुकै विद्यामा उल्लेख्य काम गरेकालाई सम्मान गर्ने परम्परा कायम राख्नुस्, सहिष्णुता कायम गरेर समाजमा उल्लेख्य काम गरेकालाई सम्मान गर्नुस्”, उनले भने ।

शनिबार, २० बैशाख २०८२, १३ : ५७

प्रतिक्रिया