मानवअधिकार आयोगको भूमिकालाई प्रभावकारी बनाउन सरकार क्रियाशील

मंगलबार, २५ मंसिर २०८१, १५ : ०६

काठमाडौं  - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७६ औं मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मंगलबार आयोजित कार्यक्रममा मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् ।

अर्थमन्त्री पौडेलले , मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको छ भन्दै मानवअधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

“राज्य र राजनीतिक शक्तिहरु मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । सर्वोच्च अदालतका फैसला कार्यान्वयन र सङ्क्रमणकालीन न्यायलाई पीडितमैत्री बनाउनेमा सरकारले ध्यान दिएको छ । आयोगलाई स्वायत्त र सशक्त बनाउन सरकार तत्पर छ,” उपप्रधानमन्त्री पौडेलले भने ।

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक (युएनडिपी) का आवासीय प्रतिनिधि हाना सिङ्गर–हम्डे, मानवअधिकार महाभेला २०२४ का संयोजक भोला भट्टराई तथा मानव अधिकार आयोगका सदस्य लिली थापाले मानवअधिकार संरक्षण र प्रवद्र्धणकाबारेमा आ–आफ्नो धारणा राखेका थिए । 

सो अवसरमा मानवअधिकार रक्षकको सशक्त भूमिका निर्वाह गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘दयाराम स्मृति पुरस्कार’ प्रदान गरिएको थियो भने वातावरण अधिकार रक्षामा योगदान गरेका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको थियो । दुवै पुरस्कारको राशि ५० हजार छ ।

मंगलबार, २५ मंसिर २०८१, १५ : ०६

प्रतिक्रिया