काठमाडौं- मुलुकको अर्थतन्त्र निरन्तर खस्कँदो क्रममा रहेको छ । आर्थिक क्षेत्र चलायमान नहुँदा व्यापार घाटा बढेको बढ्यै छ । देशको तीन खम्बे अर्थनीतिमध्ये एक मानिएको सहकारी क्षेत्र अहिले तहसनहस जस्तै बनेको छ । पछिल्लो सहकारी ठगी प्रकरणले यसप्रति आम जनमानसमा विश्वास गुम्दै गएको देखिन्छ ।
देशभरका सहकारीको रकम ठगी सम्बन्धी छानबिन गर्न गठित संसदीय समितिले मुलुकभरका विभिन्न सहकारीका बचतकर्ताको ८७ अर्ब रकम अपचलन भएको देखाएको छ । विभिन्न सहकारीको रकम अपचलन गरी गोर्खा मिडिया नेटवर्क नामक कम्पनीद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनमा पाँच सहकारीको ६५ करोड रकम भित्र्याइएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगंजको सानो पाइला गरी पाँच सहकारीको रकम अपचलन गरी गोर्खा मिडियामा ल्याइएको संसदीय समितिको प्रतिवेदनमा जनाइएको छ ।
देशभरका बहुसंख्यक बचतकर्ताको रकम अपचलन गरी सहकारी सञ्चालकहरु फरार रहेका छन् भने कतिपय प्रहरी थुनामा छन् । सहकारीको रकम अपचलन गरी गोर्खा मिडियामा ल्याएका मुख्य आरोपी सो मिडियाका अध्यक्ष जीबी राई फरार रहेका छन् । उनैमाथि पाँच सहकारीको रकम अपचलनको सम्पूर्ण दोष लगाइएको छ ।
त्यही गोर्खा मिडियाबाट सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक रहेका राईकै तत्कालीन व्यावसायिक साझेदार रास्वपाका सभापति रवि लामिछाने भने प्रहरी हिरासतमा पुगेका छन् ।
उनीसँगै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल बन्जाडे जोशी पनि प्रहरी हिरासतमा पुगेका छन् भने केही पुर्पक्षका लागि कारागार समेत चलान भएका छन् ।
प्रहरीले माथि उल्लेखित गोर्खा मिडियामा रकम भित्र्याइएका पाँच सहकारीको रकम अपचलनको अनुसन्धान गर्न लामिछानेलाई ती पाँचै सहकारी भएका जिल्लामा लगिएको छ । अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै अब अदालती प्रक्रिया सुरु हुने प्रहरीले जनाएको छ ।
अहिले यिनै लामिछानेको पक्षमा कतिपय दलका शीर्ष नेताहरु उभिएका छन् । उनीहरुले मुलकको आर्थिक क्षेत्र मध्येको प्रमुख रहेको सहकारीको रकम अपचलनका आरोपी लामिछानेलाई सरकारले प्रतिशोध साँधेको बताइरहेका छन् ।
यही प्रकृतिको सहकारी ठगी प्रकरणमा सत्तारुढ दलका कतिपय नेताहरुलाई भने कानुनी दायरामा ल्याइएको छैन । यसले रवि प्रति सरकारले पूर्वाग्रह साँधिएको आरोप लगाउन विपक्षी दललाई सहज बनाएको छ ।
रविको पक्षमा सत्तारुढ दलका कतिपय नेताहरु पनि देखिएका छन् । कांग्रेसका नेता शेखर कोइराला, अर्जुननरसिंह केसीदेखि सुनिल शर्मा पनि रवि लामिछानेमाथि प्रतिशोध साँधिएको बताउँदै आएका छन् ।
प्रतिपक्षी माओवादीले त सार्वजनिक रुपमै रविको पक्षमा अभिव्यक्ति दिन थालेको छ । माओवादी अध्यक्ष प्रचण्डले मंगलबार चितवनमा आयोजित खबरदारीसभामै रविबाट सरकार त्रसिएको टिप्पणी गरेका थिए ।
त्यस अघि पनि उनले सामाजिक सञ्जालमार्फत रविको पक्षमा अभिव्यक्ति दिँदै प्रतिशोधपूर्ण तवरले पक्राउ गरिएको बताएका थिए । यस्तै, माओवादीका अर्का नेता वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि रविको पक्षमा आफूलाई उभ्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत रविलाई विभदेपूर्ण तवरले पक्राउ गरिएको बताउँदै आएका छन् ।
अर्का पूर्व माओवादीकै नेता हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका डा.बाबुराम भट्टराईले रविलाई कास्की प्रहरीको हिरासतमा पुगेर भेट गर्दै उनको पक्राउलाई सरकारको पूर्वाग्रही कदम भएको बताएका छन् ।
भट्टराईले आफ्ना नेतालाई जोगाएर राविलाई दुराशयपूर्णरुपमा पक्राउ गरेर दुख दिएको बताएका छन् । उनले आफू वैकल्पिक राजनीतिको सुरुवातकर्ता भएको बताउँदै रवि त्यसमै लागेकाले उनीप्रति सुरु देखि नै सदाशयता रहेको कास्की प्रहरीको हिरासतमा भेटेर बाहिरिँदै गर्दा बताएका थिए ।
राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले पनि रविप्रति पक्षधरता देखाएका छन् । उनी पनि प्रहरी हिरासतमा रविलाई भेट गर्न पुगेका थिए । उनको पक्राउलाई लिएर शाहीले सरकारको प्रतिशोधपूर्ण व्यवहार भएको बताएका छन् ।
प्रतिक्रिया