स्थायी समिति बैठक

माओवादीमा भाँडभैलो ल्याउने नयाँ निर्णय : एकतामा आउनेलाई पुरानै पार्टीको पद

व्यापक असन्तुष्टि

शुक्रबार, २८ मंसिर २०८१, १७ : ५७

काठमाडौं- नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठकले पार्टीमा असन्तुष्टि ल्याउने गरी नयाँ निर्णय गरेको छ । माओवादीका विभाजित विभिन्न घटकसँग एकताका लागि प्रयासरत रहेको माओवादी केन्द्रले पार्टीमा आउनेलाई पदीय जिम्मेवारीका लागि नयाँ मापदण्ड तय गरेको हो ।

शुक्रबार बसेको स्थायी समिति बैठकले एकता प्रक्रियामार्फत पार्टीमा समाहित हुने दलका नेताहरुलाई पूर्ववर्ती पार्टीकै जिम्मेवारी दिने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए।

ती पदाधिकारीका अनुसार जुनसुकै पार्टीबाट माओवादीसँग एकतामा आउनेलाई पुरानो पार्टीमा जे जिम्मेवारी छ त्यही नै दिने निर्णय गरेको हो । यो निर्णय पदाधिकारीको हकमा पार्टी अध्यक्ष बाहेकका अन्य सबै पदमा लागू हुने बताइएको छ ।

माओवादी केन्द्रले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महिन्द्रराय यादव नेतृत्वको नेसपालगायत अन्य विभाजित घटकसँग एकताका लागि प्रयास गरिरहेको छ । तिनै ससाना घटक एकता प्रक्रियामार्फत पार्टीमा समाहित भए पुरानै पार्टीमा कायम रहेको पद दिन माओवादी केन्द्र राजी भएपछि यसले पार्टीमा तरंग ल्याएको छ ।

एकताका लागि उदार देखिन निर्धारण गरिएको यो मापदण्डले एकताबाट आएकाहरुले पार्टीका प्रमुख कार्यकारी भूमिकासहितको जिम्मेवारी पाउने र इमान्दारिपूर्वक निरन्तर लागिरहेका नेताहरुले स्थान नपाउने स्थिति सिर्जना हुने देखिएको छ । 

यस्तो मापदण्डले निकट समयमै पार्टीमा आगन्तुकहरुको बर्चस्व हुने र सम्पूर्ण जीवन नै समर्पण गरेका नेताहरुले स्थान नपाउँदा थप निराशा बढ्ने एक स्थायी समिति सदस्यले असन्तुष्टि प्रकट गरे । 

‘एकताबाट आएकालाई प्राथमिकता दिन यसरी जिम्मेवारी दिने हो भने पार्टीमा निरन्तर लागेका नेता कार्यकर्ताको मूल्यांकन कसरी हुन्छ?’, ती स्थायी समिति सदस्यले प्रश्न गरे ।

अर्का एक माओवादी नेता पनि यस निर्णयले वन साङ्लोले घर साङ्लोलाई सकाए जस्तै घातक हुने बताउँछन् । यसले नेता थुपार्ने तर जनाधार र संगठन भने झनै अस्तव्यस्त हुने उनले गुनासो गरे ।

पार्टीमा रहेका नेता कार्यकर्तालाई निराश गराउने गरी आएको यस निर्णले माओवादीमा थप किचलो बढ्ने देखिएको छ । पार्टीमा नेतृत्व हस्तान्तरणको बहस चलिरहेको बेला अध्यक्ष प्रचण्डले आफ्नो पद सुरक्षित गर्न यस्तो मापदण्ड निर्धारण गरेको बताइन्छ । 

स्थायी समिति बैठकको यो निर्णयले माओवादीभित्र थप भाँडभैलो हुने देखिन्छ । पदाधिकारी र स्थायी समिति सदस्यहरुले नै पार्टी अध्यक्ष प्रचण्डको यस निर्णयमा असन्तुष्टि जनाएका छन् ।

माओवादी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटा भने सबै नवप्रवेशीको हकमा यो मापदण्ड लागू नहुने बताउँछन् । उनले एकता प्रक्रियामा आउने दल र त्यसको सांगठनिक अवस्थाका आधारमा कार्यविभाजन गरिने बताए ।

उनले आजको अर्थसँगको कुराकानीमा भने, ‘सबैको हकमा होइन, एकता प्रक्रियामा आउने दल र त्यसको सांगठनिक अवस्थाका आधारमा कार्यविभाजन गर्ने हो। भूमिकाविहीन भएका नवप्रवेशीलाई  पार्टीमा सक्रिय बनाउन जिम्मेवारीमा प्राथमिकता दिन लागेका हौं ।’

शुक्रबारको बैठकमा आगामी केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल गर्ने बताइए पनि त्यसलाई समेत सार्ने निर्णय गरेको छ । यस अघि तोकिएको पुस २ गतेदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक पुस २१ गते सारिएको छ । 

यस्तै, पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनका लागि फेरि नयाँ प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ । यस अघि पदाधिकारी चयन गर्न नसकेर राष्ट्रिय सम्मेलन स्थगित भएपछि अहिलेसम्म नेतृत्वविहीन अवस्थामा छ । त्यसैमाथि पार्टीको बैठकले नयाँ प्रतिनिधि छनोट गर्ने निर्णय गरेपछि अखिल(क्रान्तिकारी)को भविष्य थप अन्योलतग्रस्त बनेको छ । 

गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्मेलनमा पार्टीमा व्याप्त गुटको लडाइँ र त्यसको प्रभावले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेर स्थगित भएको थियो । पदका आकांक्षी धेरै भएर विवाद हुँदा अखिल(क्रान्तिकारी)ले आन्तरिक निर्वाचनमार्फत नै पदाधिकारी टुंगो लगाउने प्रयत्न गरे पनि त्यो सफल हुन सकेन । 


 

शुक्रबार, २८ मंसिर २०८१, १७ : ५७

प्रतिक्रिया