एमालेको नियुक्तिमा पहिलो नम्बरमा पर्ने यी भाग्यमानी, ओलीको निगाहमा सधैं अवसरै अवसर

बुधबार, ०३ पुस २०८१, ११ : ४८

काठमाडौं- नेकपा(एमाले)ले निश्चित व्यक्तिहरुलाई अवसर प्रदानमा सदैब प्राथमिकता दिँदै आइरहेको छ । पार्टीमा योगदान गरेका भन्दा पनि अध्यक्ष केपी शर्मा ओली निकट भएकाहरु नै अवसर पाउनेको सूचीमा पहिलो नम्बरमा परेका छन् ।

प्रधानमन्त्री रहेका अध्यक्ष ओलीको निकट रहेर सदैब अवसर पाउनेमा उपमहासचिव विष्णु रिमाल पहिलो नम्बरमा पर्छन् ।  सधैं प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारको जिम्मेवारी पाउने उनी एक भाग्यमानी नेता हुन् । ओलीको तीनै कार्यकालाम उनी प्रमुख सल्लाहकारमा नियुक्त हुन सफल भएका छन् ।

यस्तै एमालेमा बारम्बार नियुक्ति पाउने अर्का भाग्यमानी हुन्, पूर्वगभर्नर डा.युवराज खतिवडा । उनी ओलीको प्रधानमन्त्रीत्वकालमा सदैव लाभको पदमा आसिन हुने सौभाग्यशाली नेतामा पर्छन् । 

ओलीको दोस्रो कार्यकालमा अर्थमन्त्री भएका उनी राष्ट्रिय सभाको कार्यकाल सकिएपछि पुनः अमेरिकाको राजदूत बनाइएको थियो । अहिले उनी प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारको रुपमा कार्यरत छन् ।

पछिल्लो समय एमाले निकट पत्रकार मध्येमा मनग्य अवसर पाउनेमा डा. महेन्द्र बिष्ट पनि पर्छन् । भर्खरै सार्वजनिक सेवा प्रशारण संस्थाको अध्यक्षमा नियुक्त भएका उनी यसअघि नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त भएका थिए । त्यसअघि न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष भएका विष्ट पत्रकार महासंघको पूर्वअध्यक्ष समेत हुन् । एमालेमा पटक पटक लाभको पद पाउने पत्रकारहरुमध्ये उनी अग्रपंक्तिमा पर्दछन् ।

एमालेमा ओली रिझाएर सधैं लाभको पद पाउन खप्पिस अर्का पात्र हुन्  विष्णु पौडेल । उनी सधैं अर्थमन्त्री हुने भाग्यमानी व्यक्ति हुन् । ओलीको विश्वासपात्र रहेका उनलाई पार्टीमा शक्ति सन्तुलन मिलाउन पनि सधै अवसर प्रदान गरिँदै आइएको छ ।

यस्तै ओलीको निगाहाले सधैं अवसर पाउने अर्की पात्र हुन्, अञ्जान शाक्य । उनी पनि एमालेबाट निरन्तर अवसर पाउँदै आएकी नेत्रीमा पर्छिन् । राष्ट्रियसभाकी सांसद रहेकी उनी यसअघि इजरायलका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् । भर्खरै उनलाई राष्ट्रपतिबाट मनोनीत गर्ने कोटाबाट राष्ट्रियसभाको सदस्य बनाइएको छ । 

बुधबार, ०३ पुस २०८१, ११ : ४८

प्रतिक्रिया