काठमाडौं- नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकताको गृहकार्य गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अन्तिम समयमा एकता नगर्ने निर्णय गरेको छ ।
विगत लामो समय देखि एकता प्रक्रियालाई मूर्तरुप दिन प्रयास गरे पनि अन्तिम समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीति बुझेपछि विप्लव टाढिएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय कपिलबस्तुमा सम्पन्न विप्लव नेकपाको केन्द्रीय समितिको बैठकले माओवादी एकताका लागि उदासिन रहेको भन्दै तत्काल एकता नगर्ने निष्कर्ष निकालेको हो।
माओवादी अध्यक्ष प्रचण्डले एकताका लागि केही समय अघि देखि नै विप्लवलाई फकाउँदै आएका थिए । उनले पार्टीभित्र आफ्नो नेतृत्वमाथिको संकट टार्न विप्लव भित्र्याउने योजनामा निकै जोडतोडका साथ लागेका थिए ।
यसैबीच माओवादीले केही दिन अघि पार्टी एकताका लागि अन्यत्रबाट आउनेलाई पूर्ववत् पार्टीकै जिम्मेवारी दिने निर्णय समेत गरेको थियो । यसले अन्य दलसँगको एकता प्रक्रिया अघि बढाउन थप सहज हुने आँकलन गरिएपनि एकताको सन्निकट रहेको विप्लव बाहिरिनुको रहस्य भने अर्कै रहेको माओवादी वृत्तमा चर्चा छ ।
प्रचण्डको पार्टीमा समाहित हुनेलाई पुरानै पार्टीको जिम्मेवारी दिने निर्णय विप्लव लक्षित नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सहज हुने गरी ल्याइएको माओवादी स्रोत बताउँछ ।
पूर्व माओवादीको एकतामा जोड दिँदै प्रचण्डले विप्लवलाई भित्र्याउने सार्वजनिक उद्घोष गरे पनि आन्तरिकरुपमा भने माधव नेपाललाई मात्रै एकतामा सहभागी गराउने रणनीति तय गरेपछि विप्लव बिच्किएको स्रोतको दाबी छ ।
यद्यपि एकीकृत समाजवादीले कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय सोमबार बसेको स्थायी कमिटी बैठकले गरेको छ । विप्लवलाई आश्वासन दिएर माधव नेपाल भित्र्याउने प्रचण्डको उपयोगको रणनीति फेरि एकपटक असफल भएको छ ।
विप्लवलाई पार्टीमा ल्याउँदा आफ्नो नेतृत्वमाथि नै संकट आउने भयले प्रचण्डले एकता प्रक्रिया टार्ने आफू निकटसँग बताउँदै आएका थिए । स्रोतका अनुसार प्रचण्डले आफूसँग पार्टी एकताको राग अलापेर माधव नेपालप्रति मोह बढाउँदै अन्ततः आफूलाईअलपत्र पार्ने देखिएपछि विप्लव टाढिएका हुन् ।
प्रचण्डले आफ्ना दुई पुत्री रेणु र गंगा समक्ष विप्लवलाई पार्टीमा ल्याए सिंगो माओवादी केन्द्र नै कब्जा गर्ने भयले सशंकित हुँदै त्यसबाट सावधान हुनुपर्ने बताएका थिए । दुईपुत्रीले पनि विप्लवभन्दा माधव नेपालसँग एकता गर्दा उपुयक्त हुने बताउँदै त्यसले पार्टीमा आफ्नो नेतृत्व पनि सुरक्षित हुने सल्लाह दिएको खबर विप्लव समक्ष पुगेपछि परिस्थिति भाँडिएको हो ।
एकातिर आश्वासन दिएर अर्कैसँग एकता गर्ने प्रचण्डको द्वैध चरित्रले माओवादी र विप्लव नेकपाको एकता प्रक्रिया अवरुद्ध भएको स्रोतले बतायो । आफूसँग एकताको आश्वासन दिएर प्रचण्डको माधव नेपाल च्याप्ने रणनीतिक योजना बुझेपछि विप्लव एकताबाट टाढिएको उच्च स्रोतको दाबी छ ।
‘प्रचण्डले आफ्नो परिवारका सदस्यसँग विप्लव भन्दा माधव नेपाल भित्र्याउँदा पार्टीमा थप सुरक्षित हुने बताउनुभएछ ।’, उच्च स्रोतले भन्यो, ‘त्यो सूचना उहाँ(विप्लव)समक्ष पुगेपछि झस्किएर एकता प्रक्रियाबाट टाढिनुभएको हो।’
केही महिना अघि प्रचण्डले यिनै विप्लवलाई बोलाएर पार्टी एकता छिट्टै टुंगो लगाउन निकै जोडबल गरेका थिए । तर, विप्लव भने विगतमा एमाले माओवादी एकताको उदाहरण दिँदै हतारिएर एकता गर्दा समस्या हुने भन्दै सबै प्रक्रिया पुयाएर एकता गर्नुपर्ने अडानमा रहेका थिए । उनले पहिले नीतिगत विषयमा एकरुपता कायम गरेर सांगठनिक जिम्मेवारीको टुंगो लगाएपछि मात्रै पार्टी एकता गर्नुपर्ने जवाफ प्रचण्डलाई फर्काएका थिए।
अहिले तिनै प्रचण्डको आफूलाई उपयोग गरेर माधव नेपाल ताक्ने रणनीति बुझेपछि विप्लव रुष्ट भएर पार्टी एकता प्रक्रियाबाट टाढिने निर्णय गरेको स्रोतको दाबी छ ।
प्रतिक्रिया