५ महिनामा १३ अर्ब ४ करोड बराबरको बिजुली भारत निर्यात

शनिबार, ०६ पुस २०८१, १५ : ०६

काठमाडौं - चालू आर्थिक वर्षको ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । 

नेपाल विद्युत प्राधिकरणले साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ । 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु (१३ अर्ब ४ करोड रुपैयाँ)आम्दानी गरेको छ । 

साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड,असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।

असोज महिनामा आएको बाढी पहिरोका कारण मुख्य रूपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको प्राधिकरण जनाएको छ । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरूमा विद्युत् निर्यात घटेको र शुख्खायाम सुरु भएसँगै जलविद्युत आयोजनाहरूको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नु परेको प्राधिकरण जनाएको छ । अहिले विद्युत निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । 

हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत आयोजनाहरूको उत्पादन कमी भई देशभित्रको विद्युत माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्नेछ । नदी तथा खेला नालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ । यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु भइसकेको छ । 

चालू आवमा करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य राखिएको छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । 

 

शनिबार, ०६ पुस २०८१, १५ : ०६

प्रतिक्रिया