दोस्रो पटक कार्यवाहक सभापतिको भरमा चल्दै रास्वपा, रविको उत्तराधिकारीमा विवाद

मंगलबार, ०९ पुस २०८१, १० : ५२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि कास्की जिल्ला अदालतमा तीनवटा कसुरमा मुद्दा दायर भएपछि पार्टी कार्यवाहककै भरमा चल्ने भएको  छ ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेको छ ।

कास्की जिल्ला अदालतमा मुद्दा दायरसँगै लामिछानेको सांसद पद स्वतः निलम्बन भएको छ भने पार्टीमा सभापतिबाट पनि उनी दोस्रोपटक पदमुक्त भएका छन् । यस अघि पनि नागरिकता प्रकरणमा उनी सर्वोच्च अदालतबाटै पार्टी सभापति, उपप्रधानसहित गृहमन्त्री र सांसदबाटै पदमुक्त भएका थिए ।

नयाँ नागरिकता प्राप्तिपछि भएको उपनिर्वाचनमार्फत दोस्रो पटक सांसद भएका उनी त्यसपछि पुनः उपप्रधान सहित गृहमन्त्री बन्न सफल भएका थिए ।

रास्वपाले दोस्रो पटक पार्टी सञ्चालन गर्न कार्यवाहक सभापतिको जिम्मा उनै उपसभापति रहेका डोलप्रसाद अर्याल(डीपी)लाई दिएको छ । अघिल्लो पटक पनि यिनै अर्यालले नै कार्यवाहक सभापति र संसदीय दल नेताको जिम्मेवारी पाएका थिए । यस पटक भने संसदीय दलको नेता अझै तोकिएको छैन ।

पार्टीमा उनीसँगै अर्का डा. स्वर्णिम वाग्लेसहित दुई जना उपसभापति रहे पनि सभापति लामिछानेको विश्वासपात्र रहेका अर्यालले नै पटक पटक कार्यवाहक सभापतिको जिम्मेवारी पाउँदै आएका छन् । 

रास्वपामा कार्यवाहक सभापति बाहेक अन्य तीन प्रमुख पद पनि रिक्त रहेर कार्यवाहककै भरमा चलेको छ । यस अघि महामन्त्री रहेका डा.मुकुल ढकाललाई पार्टीले कारबाही गरेपछि रिक्त रहेको उक्त पदमा नयाँ महामन्त्री चयन हुन सकेको छैन । 

कविन्द्र बुर्लाकोटीले कार्यवाहक महामन्त्रीको भूमिका निर्वाह गरिरहेका छन् भने कार्यवाहक पार्टी प्रवक्ताको जिम्मेवारीमा मनिष झा रहेका छन् । यस अघि महामन्त्री र पार्टी प्रवक्त दुबैको जिम्मेवारी डा. ढकालले सम्हालेका थिए । उनलाई कारबाही गरी पदमुक्त गरेपछि दुईवटै पद रिक्त भएको हो ।

ज्येष्ठताको आधारमा वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्नेमा सभापति लामिछानेले अर्याललाई नै दिएपछि पार्टीमा विवाद चुलिएको छ । अर्का उपसभापति वाग्ले रुष्ट भएको रास्वपा स्रोत बताउँछ । 

मंगलबार, ०९ पुस २०८१, १० : ५२

प्रतिक्रिया