माओवादी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीमाथि सुन तस्करीको आरोप (भिडियो)

मंगलबार, ०९ पुस २०८१, १३ : ५१

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का एक पछि अर्को नेतालाई सुन तस्करीको आरोप लागिरहेको बेलामा फेरि बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेललाई  पनि सुन तस्करीको आरोप लागेको छ । उनकै जिल्ला सिन्धुपाल्चोकका कांग्रेस नेता मोहन बस्नेतले पौडेललाई सुन तस्करी गरेको आरोप लगाएका हुन् । 

गत मंसिर २५ गते सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा कांग्रेस नेता एवं सांसद बस्नेतले माओवादी नेता पौडेललाई सुन तस्करी गर्दैगर्दा दुई पटक पक्राउ परेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘उहाँ(सरल सहयात्री)को हैसियत केहो ? दुई पटक त उहाँलाई सुन तस्करी गर्न लागिएको गाडीबाट गिरफ्तार गरेर थुनेको हो ।’

साथै, उनले पौडेललाई कुनै समय नेपाली कांग्रेसले नै जागिर दिलाएको बताएका छन् । सांसद बस्नेतले कांग्रेसको बैशाखी टेकेर गत निर्वाचन जितेको बताउँदै आगामी निर्वाचनमा एक्लै चुनाव जित्न पनि पौडेललाई चुनौती दिएका छन् ।

गत २०७९ को निर्वाचनमा बस्नेत र पौडेल चुनावी सहकार्य गरेका थिए । उनीहरु कांग्रेस माओवादीको केन्द्रीय गठबन्धन अनुरुप चुनावमा होमिएर सिन्धुपाल्चोकबाट संघ र प्रदेशतर्फ निर्वाचित भएका हुन् । बस्नेतले प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् भने पौडेल बागमती प्रदेशसभातर्फ क्षेत्र नं १(२)बाट निर्वाचित भएका हुन् ।

संघीय सांसद बस्नेतले उनै पूर्व चुनावी सहयात्रा गरेका बागमती प्रदेशसभा सदस्य समेत रहेका पौडेललाई सुन तस्करी गरेको गम्भीर आरोप लगाएका हुन् ।  स्मरणीय छ, पौडेल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्रका रुपमा परिचित युवा नेता हुन् । 

हेर्नुहोस् भिडियो

मंगलबार, ०९ पुस २०८१, १३ : ५१

प्रतिक्रिया